निर्माता–निर्देशकको भागाभाग

काठमाडौं, २१ जेठ । ‘यु आर काइन्ड्ली इन्भाइटेड टु आवर इन्ड क्ल्याप पार्टी.. टुडे एट काठमान्डु मल, ३ पिएम..विनीता, बिनी ज्योति गुभाजु (प्रोड्युसर) एन फुलस्टप टिम ।’
गत बिहीबार बिहान प्राय: सबै रंग पत्रकारको मोबाइलमा आयो यो मेसेज । प्रविधिको विस्तारसँगै हिजोआज पत्रकारलाई कार्यक्रममा ‘इन्भाइट’ गर्ने शैलीमध्ये यो पनि एउटा हो । मेसेज आएको थियो, विनीता बरालको नम्बरबाट, चलचित्र चपली हाइटबाट ‘हट’ पहिचान बनाएकी नायिका । चलचित्रप्रति आकर्षण बढाउन निर्माणदेखि प्रदर्शन हुँदासम्मको अवस्थामा नायिकालाई अघि सार्ने परिपाटी नौलो होइन नेपाली चलचित्रमा । विनीताले खबर पठाएकी थिइन्, निर्माणाधीन चलचित्र फुलस्टपको इन्ड क्ल्यापका अवसरमा आयोजना हुने कार्यक्रममा उपस्थिति जनाउन ।
मेसेजकै आधारमा समाचार संकलनका लागि पत्रकार काठमान्डु मल पुगे तर त्यहाँको माहोल देखेर सबै चकित परे, मेसेजमा भनिएजस्तो पटक्कै थिएन । सोही चलचित्रका केही कलाकार र निर्माताचाहिँ थिए तर उनीहरु नै अत्तालिएजसरी कानेखुसी पो गर्न थाले, ‘यत्तिका पत्रकार यहाँ किन आएछन् ?’
‘इन्ड क्ल्याप सकियो कि कसो ? यहाँ त कुनै छेकछन्दै छैन त ?’, एक पत्रकारले सोधेका मात्र के थिए, उपस्थित चलचित्रकर्मी मुखामुख गर्दै एकाएक हराउन पो थाले । माहोल नियालिरहेका सोही चलचित्रका निर्देशक कमलकृष्ण अगाडि बढे र केही तामझाम मिलाउन लागेझँैं गर्न थाले । मानाँैं, उनी पनि इन्ड क्ल्याप गराएको अभिनय मात्र गरिरहेछन् तर उनी पनि टिक्न सकेनन्, हिँडिहाले । एक एक गर्दै कलाकार, निर्माता सबै हराए । पछि थाहा भयो, उनीहरुको ‘भागाभाग’ भएको रहेछ । निर्माता गजेन्द्र रञ्जितले कुरा खोले, ‘कसले इन्ड क्ल्याप पार्टी भनेर बोलायो मलाई नै थाहा थिएन, पत्रकारलाई आमन्त्रित गरिसकेको अवस्थामा जवाफ दिन नसक्ने देखेर म त्यहाँबाट बाहिरिएको हुँ ।’ चलचित्रको केही काम अझै बाँकी रहेको र निर्देशकले जरुरी छ भनी बोलाएकाले आफू त्यहाँ आएको उनले बताए । ‘तर, म आफँैं छक्क परेँ’, उनले भने ।
निर्देशक कमलकृष्णचाहिँ आफू एक टेलिचलचित्रको सुटिङमा जानुपर्ने भएकाले त्यहाँबाट हिँडेको बताउँछन् । भन्छन्, ‘त्यसपछि के भयो, मलाई केही थाहा छैन ।’
नाम उल्लेख गर्न नचाहने एक प्राविधिकले भने नबोलाउनु बोलाइसकेपछि पत्रकारलाई जवाफ दिनुपर्ला भनेर निर्माण टोलीसँगको सल्लाहमै निर्देशक कमलकृष्ण त्यहाँबाट भागेको प्रतिक्रिया दिए । ती प्राविधिकले भने, ‘५ बजे यहाँबाट निस्किएका उनी ६ बजे वनस्थलीको आर्किड रेस्टुरेन्टमा थिए, सुटिङमा गए/नगएको आफैँं अनुमान गर्नुस् ।’ त्यसो भए विनीताले किन पठाइन् त मेसेज ? उनी आफूलाई यस मामिलामा निर्माण समूहले फसाएको बताउँछिन् । ‘तपाईंले सबै पत्रकारलाई चिन्नु भएको छ, इन्ड क्ल्यापका लागि निम्तो पठाइदिनुस् भनेका थिए’, उनले भनिन्, ‘आखिरमा मैलाई झुटो साबित गरिदिए ।’
उता चलचित्रका अर्का निर्माता विनय गुभाजुले भने कार्यक्रस्थलमा उपस्थित एक कलाकार बिरामी पर्नाले इन्ड क्ल्यापको मेनेज गर्न नपाएको गैरजिम्मेवार जवाफ दिए ।

प्रतिक्रिया