कुप्रचारले एमाले विभाजनको संघारमा

काठमाडौं, २० जेठ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी संघीयता विरोधी नभए पनि कु–प्रचार गरिएकाले नेता कार्यकर्ता विभाजनको संघारमा पुगेको बताएका छन् ।
उनले कु–प्रचारको हावाले एमालेमा जनजाति नेता कार्यकर्तालाई विचलित र विभाजनको अवस्था पुराएको बताए ।
ललितपुरमा आज आयोजित कार्यक्रममा नेता नेपालले पार्टी भित्रका विचार र मतान्तरलाई बहस र छलफलबाटै समाधान खोज्न सकिने बताएका छन् । उनले भने, ‘निकास खोज्न सकिने सबै विषय भएकाले पार्टी छोडेर नजान जनजाति नेताहरुलाई आग्रह गर्छु ।’
एमाओवादी, मधेसवादी दलहरुलाई संकेत गर्दै नेता नेपालले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको भन्दै आफ्नो राजनीतिक अभिष्ट पुरागर्न एमालेलाई संघीयता विरोध भनेको दाबी गरे ।
एमाले नेता नेपालले संविधानसभा विघटनसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट शुरु भएको बताएका छन् । उनले दोष एक अर्कालाई थोपारे पनि अहिलेको संवैधानिक संकट एमाओवादीको गैर जिम्मेवारीले उत्पन्न भएको दावी गरे ।
उनले भने, ‘संविधानसभा विघटनको दोष एकले अर्कालाई थोपर्ने गरिए पनि एमाओवादीको गैरजिम्मेवारीका कारण अहिलेको संवैधानिक संकट आएको हो ।’
उनले संविधानसभा भित्रका दलहरुसँग कुनै छलफल र सहमति नै नगरी प्रधानमन्त्री बाबुराम भट्टराईले एकलौटी असंवैधानिक तवरले संविधानसभा निर्वाचनको नयाँ मिति घोषणा गरेको बताए ।
उनले अहिलेको अवस्थामा नयाँ राजनीतिक समझदारी गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया