ग्ल्यामरमा नो कम्प्रोमाइज

एक दिन उनले सपना देखेकी थिइन् रे– चलचित्रको पर्दा अनि सहरका भित्तामा आफ्नो फोटो टाँसिएको । सानैदेखि गडेको रहेछ उनमा मोडलिङ अनि चलचित्रप्रतिको मोह । दुलही रानीले उनको पर्दामा देखिने र सहरको भित्तामा टाँसिने सपना त पूरा गरिदियो तर रहर अझै मरिसकेको छैन । अझै असन्तुष्ट छिन्, नायिका सबिना कार्की । भनिन्, ‘यो चलचित्रमार्फत कलाक्षेत्रमा मेरो काम मात्र सुरु भएको हो, नाम कमाउन त अझै बाँकी छ ।’
धनुषा तुलसीपुरकी उनी ग्ल्यामरबारे खुला धारणा राख्छिन् । अनि, व्यवहार पनि लगभग त्यस्तै देखाउँछिन् । शंकै छैन, खुलेरै ग्ल्यामर प्रदर्शन गर्न रुचाउने केटी हुन् सबिना । उनको भनाइ नै दृढ छ, ‘अब ग्ल्यामर क्षेत्रमै लागिसकेपछि केको वान पिस र टुपिस भनेर अल्झिइरहनु † ग्ल्यामरमा नो कम्प्रोमाइज ।’ सौन्दर्यको गौरव छ उनलाई । आफ्ना हरेक अंग राम्रो लाग्ने बताउँछिन्, ‘अलि काली छु तर राम्री छु ।’ बढीजसो वान पिस र टुपिस दुवै पहिरनमा हिँड्न मन लाग्ने सुनाउँदै थिइन् यी सुन्दरी । ‘यस्तै पहिरनमा हिँड्दा रमाइलो लाग्छ अनि सजिलो पनि,’ अनुभव सुनाउँदै छिन्, ‘तर, जिस्क्याउने नै धेरै हुन्छन् । क्या च्वाँक, क्या सेक्सी भन्दै र्‍याल काढ्न थाल्छन्, हाई गर्छन् ।’
मिलेको जिउडाल अनि भर्भराउँदो जवानीले उनको ग्ल्यामरस छविलाई भरमार सघाइरहेझैँ लाग्छ । अनि, उनको जवानीमा लठ्ठिएर प्रेमप्रस्ताव राख्नेहरूको पनि कमी छैन रे † भन्छिन्, ‘चलचित्र क्षेत्रभित्र र बाहिरबाट दिनमै दर्जनको हाराहारीमा प्रेम प्रस्ताव आउँछन् ।’
रंगीन दुनियाँमा छिरेर केही बुझिसकेकी अनि जसरी हुन्छ यसै क्षेत्रमा स्थापित हुने प्यास बोकेकी उनी सेक्सबारे पनि नि:संकोच बोल्छिन् । भन्छिन्, ‘सेक्सका बारेमा सबै थाहा छ तर मसँग यसको अनुभव भने छैन, यो जीवन धान्ने एक प्रक्रिया हो, यसमा हतारो गर्नु हुँदैन ।’ त्यसो त पछिल्लो समय चलचित्र एटिएममा अभिनय गरेपछि उनी केही चर्चा अनि विवादमा पनि धकेलिएकी छन् । चलचित्रको प्रोमो हेर्नेहरूले त्यसमा रहेका दृश्य र संवादहरू ‘आपत्तिजनक’ रहेको भन्दै आलोचना गरिरहेका छन् । ‘यस चलचित्रमा ठडिएको औँलोले अब आगामी चलचित्रमा सतर्क रहन सचेत गराएको छ,’ उनले भनिन्, ‘यसबाट राम्रै पाठ सिकेकी छु, जीवन एक सिकाइ न हो, सिक्दासिक्दै सकिन्छ एक दिन ।’

प्रतिक्रिया