गाउँमा त के जिल्लामै छैनन् डाक्टर

इलाम, २० जेठ । जिल्ला स्वास्थ्य कार्यालय इलाममातहतका विभिन्न स्वास्थ्य संस्थामा चार दर्जनभन्दा बढी कर्मचारी दरबन्दी खाली छन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी र उपस्वास्थ्यचौकीमा लामो समयदेखि डाक्टरसहित कर्मचारीे दरबन्दी पूर्ति हुन नसक्दा बिरामी स्वास्थ्य सेवाबाट वञ्चित छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अस्पतालसहित जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा दुई सय ६ दरबन्दीमध्ये ५० भन्दा बढी दरबन्दी खाली छन् । जिल्ला अस्पतालमा तीन डाक्टरसहित ३० जनाको दरबन्दी रहेकामा तीनैजना डाक्टरको दरबन्दी खाली छ । दरबन्दीमा रहेका डाक्टर तारानाथ पोख्रेल पछिल्लो समय सरुवा भएपछि अस्पतालमा हाल एकजना पनि दरबन्दीका डाक्टर छैनन् ।
डाक्टर नहुँदा अस्पतालले भिडियो एक्सरे र शल्यक्रिया सेवा बन्द गरेको छ । सेवा बन्द भएपछि गर्भवती सबैभन्दा बढी प्रभावित भएका छन् । अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नहुँदा अन्य रोगीदेखि गर्भवतीलाई अस्पतालले निजी अस्पतालमा रिफर गर्दै आएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालबाट भिडियो एक्सरे, शल्यक्रियासमेतको सुविधा नपाएपछि बिरामी महँगो खर्चमा जिल्लाबाहिर जान बाध्य छन् ।
अस्पतालले गत चैतमा ३० जनालाई सुत्केरी गराएका थिए । तीमध्ये दुईजनाको शल्यक्रिया भएको तथ्यांक छ । वैशाख र जेठको दोस्रो सातासम्म सुत्केरी गराउन दुई सय १२ ले अन्तिम स्वास्थ्य परीक्षण गराएको जिल्ला अस्पतालका मेडिकल रेकर्डर अर्जुन भेटुवालले बताए ।
अस्पतालमा हाल करारमा कार्यरत डाक्टरले ‘साधारण’ स्वास्थ्य सेवा दिँदै आएका छन् । त्यस्तै दरबन्दीका अन्य दुई डा यज्ञराज खरेल र डा रुद्र मिरासैनी करिब दुई दशकदेखि नै अध्ययन बिदा भनेर गएपछि फर्किएका छ्रैनन् ।
यस्तै जिल्लाका मंगलबारे, फिक्कल, पशुपतिनगर र प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा समेत दरबन्दीका स्वास्थ्यकर्मी छैनन् । विभिन्न गाविसमा रहेका ६ स्वास्थ्यचौकीमा अहेब र खरिदारसहित २४ जनाको दरबन्दी रहेकामा आठ खरिदार, एचए र अहेबको दरबन्दी खाली छ । यस्तै ३१ उपस्वास्थ्यचौकीमा एक सय चार जनाको दरबन्दी रहेकामा ४० भन्दा बढीको दरबन्दी रिक्त रहेको कार्यालयले जनाएको छ । उपस्वास्थ्यचौकीमा ग्रामीण स्वास्थ्य कार्यकर्ता ३८ मध्ये २२ दरबन्दी खाली छ ।
‘स्वास्थ्य संस्थामा डाक्टर र ग्रामीण स्वास्थ्य कार्यकर्ताकै दरबन्दी सबैभन्दा बढी खाली हुँदा बिरामीले स्वास्थ्य सेवा पाउन सकेका छैनन्,’ कार्यालयका नायब सुब्बा छविलाल खतिवडाले भने, ‘गाउँमा बालबच्चालाई मासिक खोप, पोलियो थोपा खुवाउने कार्यमा धेरै समस्या भइरहेको छ ।’

प्रतिक्रिया