हेलिकोप्टर पुगेपछि मुस्काएको जुगेपानी


आर्थिक रूपमा अति विपन्न गाउँले र विकासका कुनै पूर्वाधार नपुगेको जुगेपानी गाउँ पुग्न काभ्रेको सदरमुकाम धुलिखेलबाट पूरै दुई दिन लाग्थ्यो । ०२७ सालमा पहिलोपटक जुगेपानीमा हेलिकोप्टर पुग्दा गाउँलेहरू कति दंग परे होलान् ? हेलिकोप्टर हेर्नेको भिड कति थियो होला ? पानी परिरहेको त्यस साँझ गाउँमा उल्लास छाएको थियो । पानीमा भिज्दै हेलिकोप्टर हेर्न सारा गाउँ उर्लिएको थियो । स्विट्जरल्यान्ड सरकारको सहयोगमा दुग्ध विकास संस्थानले जुगेपानी चिज कारखाना स्थापना गर्न सामान ओसार्ने काममा गाउँमै ‘नौलो चरा’ (हेलिकोप्टर) ल्यान्ड गराइएको थियो । त्यसबेला दाप्चासम्म मात्रै मोटर चल्थ्यो, त्यसैले चिज कारखानाका लागि चाहिने सामान बोकेरै लगियो । बोइलर मेसिन, ठूलो तामाको भ्याटलगायत ठूला सामान हेलिकप्टरले बोक्यो ।
यसरी चिज कारखानाले भीमखोरी, वाल्टिङ, छिमेकी जिल्ला सिन्धुलीका नेत्रकाली, कामजोर, शान्तिश्वरी गाविसमा दुग्ध उत्पादन र बिक्रीको क्रान्ति नै छेडिदियो । पहिले दही, मोही, घ्यू आदि उत्पादन गरेर घरमै उपयोग गर्नेहरू दूध बेचेर लाखौँ कमाउन थाले । आर्थिक रूपले विपन्न गाउँले एकाएक धनी भए । तर, चिज कारखाना ०५० मा बन्द भयो । कारण देखाइयो– यातायातको समस्या । समयको अन्तरालसँगै बिपी राजमार्ग निर्माणले किसानले दूध बेच्ने मार्ग सजिलै भेटे तर पहिलेका वर्षझैँ भाउ भने पाएनन् । ‘फेरि चिज कारखाना स्थापना गर्नुपर्‍यो’ भनेर पटकपटक स्थानीयबासीले चिस्यान केन्द्रमा अनुरोध गरे तर कसले सुन्ने गुनासो ? बरु, बन्द भएको झन्डै १४ वर्षपछि समाचार संकलनका लागि पुगेका पत्रकारको समाचारकै कारण ०६५ असोज १ गतेदेखि चिज कारखाना पुन: सञ्चालनमा आयो ।
०००
म पहिलोपटक भीमखोरी गाविसको जुगेपानी पुगेको थिएँ, जुगेश्वर प्राविको कार्यक्रममा । निकै वर्षदेखि मनमा गढेर बसेको चिज कारखाना हेर्ने रहर पूरा हुँदै थियो । दृश्य अनौठो थियो । सिन्धुलीको नेत्रकाली र काभ्रेको भीमखोरी गाविसको दोसाँधमा बसेको विकट जुगेपानीमा बडो सुन्दर भवनहरू थिए, जुन मेरो कल्पनामै थिएन । ती भवनमा भैँसी पो पालिएको रहेछ † अरू भवन जीर्ण भइसकेका रहेछन् । अचम्मै लाग्यो– त्यो सुन्दर चिज कारखाना भैँसीगोठ पो भएको रहेछ । करोडौँका उपकरण अलपत्र, त्यसै टोलाइरहेका, कोही आउलान् कि झैँ पर्खाइमा बसिरहेजस्ता † रामध्वज थिङले भैँसी पालेका रहेछन् । कारखानाको आँगनमा चाहिँ मलखाद रहेछ । थोत्रिएका, मैलिएका र धुलोले पुरिएका दुग्ध उत्पादन गर्ने सामानलाई क्यामेरामा कैद गर्‍यौँ, इतिहास खोतल्यौँ । बूढाबूढीको आँखामा चिज कारखानाको पुरानो सान–सौकत मात्र बाँकी रहेछ ।
धुलिखेलबाट ५५ किलोमिटर टाढाको त्यो जुगेपानी गाउँको चिज कारखाना स्विट्जरल्यान्ड सरकारले ०२७ सालमै स्थापना गरेको थियो । ‘त्यतिबेला दाप्चासम्म बस चल्ने भए पनि त्यहाँबाट झन्डै डेढ दिन लगाएर जुगेपानी आउनुपथ्र्याे,’ जुगेपानीका सुरेश कर्माचार्य फ्ल्यासब्याकमा जान्छन्, ‘त्यसबेला गाउँमा हेलिकोप्टर आयो, कुहिरेहरू पनि आए ।’ फर्कंदा मनमा लागिरह्यो– चिज कारखाना फेरि सञ्चालनमा आउनुपर्छ । हुन पनि कारखाना नहुँदा किसान साह्रै मर्कामा रहेछन् । म त्यतिबेला एउटा टेलिभिजनमा काम गर्थें । टेलिभिजनमा रिपोर्ट प्रसारण भएपछि उराठलाग्दो कारखाना र किसानका मागबारे काठमाडांैको दुग्ध विकास संस्थाको ध्यान खिचियो । ०६५ असोज १ देखि संस्थानले चिज कारखाना फेरि सञ्चालनमा ल्यायो । ‘पत्रकार नै पुगेका थिएनन् भने चिज कारखाना पुन: सञ्चालनमा आउँदैनथ्यो,’ पूर्व जिविस काभ्रेका सदस्य शंखबुद्ध लामाले भने । पटकपटक कारखाना सञ्चालनको माग गर्दा–गर्दा हार मानेका किसान खुसीले उफ्रिए । किसानले फेरि दूधबाट राम्रो आम्दानी गर्न थाले । फेरि किसानको जीवनको लय फेरियो, बालबच्चा प्रफुल्लित मुद्रामा स्कुल जान थाले । गाउँलेका मुहारमा खुसी मडारियो । दूधको मूल्य नपाएर ठगिने र दूध बेच्नैका लागि लामो दूरीको यात्रा गर्नुपर्ने समस्या अन्त्य भयो ।

प्रतिक्रिया