एमालेका दुवै पक्षलाई मिल्न दबाब

काठमाडौं, २० जेठ । आदिवासी जनजातिका समस्यालाई लिएर विभाजनको संघारमा पुगेको एमालेका दुवै पक्षलाई कार्यकर्ताले एकताका लागि दबाब दिएका छन् । शुक्रबार भएको पोलिटब्युरो बैठकमा बोल्ने सबै सदस्यले जनजातीय मुद्दाको तत्काल सम्बोधन गरी समस्या सुल्झाउन शीर्ष नेताहरुलाई दबाब दिए भने असन्तुष्ट पक्षको छुट्टै भेलामा उपाध्यक्ष अशोक राईलाई अन्तरसंघर्षमार्फत नेतृत्वलाई रुपान्तरण गर्न कार्यकर्ताले सुझाएका छन् ।
बल्खुस्थित पार्टी मुख्यालयमा पोलिटब्युरो बैठक राखिएको थियो भने असन्तुष्ट रहेका उपाध्यक्ष राईसहित पोलिटब्युरो सदस्यहरुले बालाजुमा युवा–विद्यार्थीको भेला राखेका थिए । उपाध्यक्ष राईलगायत नेताले जातीय उत्पीडनविरुद्ध नेतृत्वले साथ नदिएको भन्दै नयाँ पार्टी गठनको तयारी अघि बढाएका थिए । पार्टी मुख्यालयमा पोलिटब्युरो बैठक चलिरहँंदा उपाध्यक्ष राईसहित पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा र विजय सुब्बा भने पार्टीनिकट जनजाति युवा तथा विद्यार्थी भेलालाई सम्बोधन गरिरहेका थिए । थममाया थापा, नागेन्द्र चौधरी र श्रीमाया थकालीचाहिँ भेलामा नगएर पोलिटब्युरो बैठकमा पुगेका थिए ।
बैठकमा अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको प्रतिवेदनमाथि टिप्पणी गर्दै प्रदीप नेपाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, केशव बडाल र नागेन्द्र चौधरीले राज्य पुन:संरचनाबारे बेलैमा दृष्टिकोण सार्वजनिक नगर्नु, जातीय उत्पीडनबारे उठेका विषयको सुनुवाइ नगर्नु गम्भीर गल्ती भएको धारणा राखेका थिए । असन्तुष्ट नेताहरुसँग तत्काल छलफल गरी समाधानमा पुग्नुपर्ने उनीहरुको भनाइ थियो ।
बैठकमा जनजाति नेताहरुको नामै लिएर भावुक रुपमा प्रस्तुत भएका नेताहरुले लामो समयसम्म संघर्ष गरेर स्थापित भएका अशोक राई, पृथ्वी सुब्बा गुरुङ्, विजय सुब्बा, किरण गुरुङजस्ता नेताको मागको संस्थागत सुनुवाइ गर्न आग्रह गरेका थिए । ‘अशोक राई, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, विजय सुब्बा, दलबहादुर राना हिजो आएका नेता होइनन्, यो पार्टी उनीहरुले बनाएको हो,’ पोलिटब्युरो सदस्य नेपालले भने, ‘उनीहरुलाई गए जाऊन् भन्ने यो पार्टीमा कोही छ भने त्यसले एमालेको भलो गरेको ठहर्दैन ।’
उनीहरुले शीर्ष नेतृत्वले समस्याको गहिराइसम्म पुगेर सुनुवाइ नगरेको गुनासो गरेका थिए । केही नेताले तत्काल पोलिटब्युरो बैठक स्थगन गरी स्थायी समितिका सदस्य र जनजाति समस्या उठाइरहेका नेताबीच बैठक बस्न आग्रह गरेका थिए । पोलिटब्युरो बैठकलगत्तै राईलगायत नेतासँग स्थायी समितिले छलफल गर्ने प्रतिबद्धता प्रमुख नेताहरुले गरेका थिए ।
केन्द्रीय कमिटीको १२ औँं बैठकले गरेको निर्णयमा नेतृत्व अडिग हुन नसक्दा पार्टीमा समस्या आएको नेताहरुको भनाइ थियो । उक्तं बैठकले पहिचानका सबै आधार समेटेर १५ प्रदेश बनाउने निर्णय गरेको थियो । ‘१२ आँैं बैठकको निर्णयमा अडिग हुन नसक्दा समस्या आएको हो,’ नेता सुरेन्द्र पाण्डेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जे कमजोरी भएका छन् तिनलाई सच्याएर पार्टी एकजुट बनाउनुपर्छ ।’
अध्यक्ष खनाललगायत शीर्ष नेताहरुले एकताको सामूहिक पहलकदमी लिनुपर्ने र पार्टीमा लामो समयम योगदान दिएका नेताहरुलाई उपेक्षित र उत्तेजित हुनेगरी बोल्नेलाई नेतृत्वले वरिपरि राख्न नहुने सुझाव बैठकमा दिएका थिए । शुक्रबार बोल्ने क्रम नसकिएकाले शनिबार पुन: बैठक बसी त्यसपछि एमालेले विवाद समाधानका लागि पहल अघि बढाउने भएको छ ।
युवा–विद्यार्थीको भेलामा गएका पोलिटब्युरो सदस्य गुरुङले निजी व्यस्तताका कारण पोलिटब्युरो बैठकमा जान नसकेको बताए । ‘निजी व्यस्तताले पोलिटब्युरो बैठकमा जान सकिनँ’ गुरुङले सौर्यसँग भने । बालाजु बसपार्कस्थित तमु छो ज धिंँको कार्यालयमा भएको भेलामा उपाध्यक्ष राईले अन्तरसंघर्ष चलाएर एकढिक्का बनाउने पक्षमा आफूहरु रहे पनि सम्भावना कम हुँदै गएको बताए । ‘पार्टीले सबैखालका शोषण र उत्पीडनविरुद्ध आवाज उठाउँछ भन्ने थियो तर त्यसलाई सकारात्मक रुपमा लिएन,’ उपाध्यक्ष राईले भेलामा भने, ‘अब केन्द्रीय कमिटी बैठकमा यी सबै कुरा राख्छौँ,ं सुनुवाइ नभए विद्रोहको विकल्प रहने छैन ।’

प्रतिक्रिया