“केटीसँग बोलेको देख्दा रिसाउँछिन्”

राष्ट्रिय टिमका कप्तान सागर थापा र म बहिनीहरूसँग बसेर लन्च खाँदै थियौँ, चाबहिलको एउटा रेस्टुरेन्टमा । त्यही ठाउँमा उनी पनि आएकी रहिछन् । उनी अर्थात् मेरो ‘फस्र्ट डेट’ । सोही क्रममा उनीसँग हल्का चिनजान भएको हो, त्यति बेला उनले मलाई फुटबल खेलाडी भनेर चिनेकै थिइनन् । मलाईचाहिँ देख्नेबित्तिकै उनी मन परिहालिन् । अरू सबै जना गफिइरहँदा मचाहिँ एकोहोरिएर कल्पनामा डुब्न पुगँेछु । उनी सिधै म भएतिर आइन् र सोधिहालिन्, ‘तपाईंलाई मैले कता–कता देखेजस्तो लाग्छ ।’ मैले उनलाई नढाँटी आफ्नो परिचय दिएँ, फुटबलरका रूपमा । एक छिन त उनी चकित परिन्, केही बोलिनन् । अनि केही छिनपछि भनिन्, ‘अँ, मैले तपाईंलाई टिभीमा देखेकी थिएँ ।’
उनको पूरै नाम त अहिले नभनुँ क्यारे † तैपनि अंग्रजीको ‘के’ अक्षरबाट सुरु हुन्छ । पहिलो भेटमै हामी एकअर्काप्रति आकर्षित हुन थाल्यौँ, भेटघाटको क्रम बाक्लियो । भेट भएको तेस्रो दिनमै चाबहिलबाट सँगै ठमेल गयाँै, तैपनि प्रेमप्रस्ताव भने व्यक्त गर्न सकेनौँ । उनी ब्याचलर पहिलो वर्षमा अध्ययन गरिरहेकी थिइन् भने मचाहिँ टुवेल्भमै थिएँ । म १७ वर्षको थिएँ उनी १६ वर्षकी । एकअर्कासँग नजिक हुन थालेपछि एक दिन उनको घरमै गएँ, दिदीहरू नभएको मौका छोपेर । सोही क्रममा उनलाई ‘आई लभ यु’ भनेर प्रस्ताव गरेँ । उनले पनि स्विकारिहालिन् । प्रस्ताव सफल भएको अवसरमा दरबारमार्गको नाङ्लो रेस्टुरेन्टमा गएर लन्च गर्‍यौँ । त्यहाँ करिब दुई घन्टा बिताउँदा उनले मेरो फुटबलबारे अनि मैले उनको अध्ययनबारे कुराकानी गरेका थियौँ । यतिसम्म एकअर्काप्रति डुबिरहेका थियौँ कि त्यहाँको पूरै माहोल हाम्रै लागि बनेजस्तो लागिरहेथ्यो । मायाका कुरासँगै एकअर्कालाई चुम्बन पनि गरिरहेका थियौँ हामी । त्यसपछि भक्तपुरको दरबार स्क्वायरतिर लाग्यौँ, बाइकमा । म बाइक अलि स्लो कुदाउँदै थिएँ, उनी भन्दै थिइन्, ‘अलि स्पिड कुदाऊ न, के हो यस्तो †’ म उनलाई सम्झाउने पाराले ‘बिस्तारै गए अवश्य पुगिन्छ’ भनेरै टार्थें ।
त्यसको एक वर्षपछि हामी पोखरा गयौँ । रितेश दाइ सागर दाइ र सन्तोष (राष्ट्रिय खेलाडी रितेश थापा, सागर थापा र सन्तोष साहुखल) आ–आफ्ना श्रीमती लिएर गएका थिए । म पनि उनलाई लिएर गएको थिएँ । फेवाताल सयर गर्ने क्रममा एउटा ठूलो बोट नपाएपछि हामीले साना तीनवटा बोट लियौँ । तालको बीचमा तीनवटा बोट जोडेर मैले उनलाई सरप्राइज दिएँ । त्यस दिन उनको बर्थडे थियो । त्यहीँ बर्थडे केक काटेर सेलिब्रेसन गराएँ । उनी यति खुसी भइन् कि अहिले शब्दमा बताउनै सक्दिनँ । ‘यो बर्थडे मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण भएर रहनेछ’, यति भन्दै उनी इमोसनल हुन थालिन् । मलाई अँगालिन् र चुम्बनले साथ दिन खोजिन्, मैले पनि उनलाई साथ दिएँ ।
यो लगभग चार–पाँच वर्षअगाडिको कुरा हो । अहिले पनि हाम्रो सम्बन्ध उस्तै छ । बेलाबखत ठाकठुकचाहिँ निकै पर्छ । म अरू कुनै केटीसँग बोलेको कुराले उनी रिसाउँछिन् । फेसबुकमा केटी फ्यानहरूलाई रिप्लाई गर्दा, फोन उठाउँदा उनी नरमाइलो मान्छिन् । म फ्यानहरूसँग राम्ररी बोल्नुपर्छ भन्ने मान्यता राख्छु । उनीचाहिँ यसो भन्छिन्, ‘जो पायो त्यहीसँग किन बोलेको ? म अब तिमीसँग कहिल्यै बोल्दिनँ †’ यही विषयलाई लिएर उनी अन्य कुरामा पनि निहँु खोजिरहेकी हुन्छिन् । आखिर त्यसको समाधान मैले नै निकाल्नुपर्छ । उनको गल्ती छ भने पनि म नै फकाउँछु । मैले उनलाई फकाउने शैली प्राय: कमेडी खालको हुन्छ । घरी उनलाई मनपर्ने अभिनेता शाहरूख खानको त घरी उनकै जस्तो एक्टिङ गरिदिन्छु । मलाई त्यस्तो गरेको देखेपछि उनी खुबै हाँस्छिन् अनि खुसी हुन्छिन् ।
उनीसँगको प्रेम अहिलेसम्म आइपुग्दा पाँच वर्ष भइसकेछ । हाम्रो सम्बन्ध प्रगाढ छ र आगामी दिनमा पनि त्यस्तै रहने विश्वास छ । यो सम्बन्धलाई अबको पाँच वर्षपछि विवाहमा परिणत गर्ने सोच बनाएका छौँ । पछाडि फर्केर हेर्दा मेरो जिन्दगीले यति लामो सुमधुर सम्बन्ध पाउला भन्ने सोचेकै थिइनँ । यसका लागि म उनलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । आई लभ यु के † ‘के’ अर्थात् मेरी मायालु ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया