कर्मचारीसँग सोधपुछ

 

काठमाडौं, १९ जेठ । कर्मचारीको मिलेमतोमा विद्युत् चोरी गरेको बाराको त्रिवेणी स्पिनिङ मिल्सको सक्कल फाइल नै गायब बनाइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले सम्बन्धित शाखाका कर्मचारीसँग सोधपुछ गर्न थालेको छ । केन्द्रीय कार्यालयबाट ६ करोड १५ लाख ९२ हजार रुपियाँबराबरको विद्युत् चुहावट गरेको भन्दै चुहावट महाशाखाले प्राधिकरणमा प्रतिवेदन बुझाए पनि अहिलेसम्म उक्त मिल्सबाट बक्यौता असुलिएको छैन भने कर्मचारीलाई पनि कारबाही गरिएको छैन ।
गत भदौमा मिल्सले चुहावट गरेको फेला पारेकोमा गत मंसिरमा कारबाहीका लागि सिफारिस गरिएको थियो । तर, पछिल्लो समयमा प्राधिकरणका कर्मचारीकै मिलेमतोमा मिल्सको सक्कल फाइल नै गायब गरिएको छ । प्राधिकरणले बल्ल छानबिन र कारबाही प्रक्रियामा अघि बढाएको छ । ‘हामीले ५/६ जना कर्मचारीसँग स्पष्टीकरण लिएर बिहीबारदेखि बयान सुरु गरेका छाँै,’ प्राधिकरण प्रशासनका कामु उपकार्यकारी निर्देशक बद्रीनाथ रोक्काले भने, ‘भोलि (शुक्रबार)सम्म सबैको बयान सकिन्छ र सक्कल फाइल हराएकोबारे थाहा हुन्छ ।’ प्राधिकरण कानुन विभागका कर्मचारीसँग प्राधिकरणले बयान लिएको हो ।
तत्कालीन अवस्थामा विभाग सदस्य–सचिव चुहावट पुनरावलोकन समितिको सदस्य–सचिव हुने भएकाले मिल्सको सबै फाइल त्यही शाखामा राखिने गरिएको थियो । विद्युत् चुहावट भएको फाइल एकाएक गायब भएपछि अहिले प्राधिकरणभित्र आर्थिक प्रलोभनमा परेर फाइल गायब गरिएको भन्दै छानबिनका लागि व्यापक दबाब परेको छ तर सुस्त रूपमा छानबिन भइरहेको छ । सम्बन्धित उद्योगबाट यथाशक्य छिटो बक्यौता उठाउनुपर्ने र बिलिङ सिस्टम बिगार्ने कर्मचारीलाई कारबाही पहिल्यै गरिसक्नुपर्ने भए पनि अहिले प्राधिकरण सक्कल फाइल गायब गराउनेकै खोजीमा लागेको छ ।
‘प्राधिकरणको केन्द्रीय कार्यालयबाटै ६ करोडको विद्युत् चोरी फायल गायब हुनु चानचुने कुरा होइन,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘यसमा उच्च कर्मचारीकै मिलेमतो हुनुपर्छ र गलत गर्नेमाथि कारबाही गर्नुपर्छ ।’ सक्कल फाइल हराए पनि त्यसको फोटोकपी रहेकाले सम्बन्धित कर्मचारीलाई कारबाही तत्काल गर्नुपर्ने माग उनीहरूको छ ।
सो मिल्सले कर्मचारीको मिलेमतोमा बिलिङ सिस्टम नै बिगारी ६ करोड १९ लाख ९२ हजार रुपियाँ विद्युत् चोरी गरेको सक्कल फाइल नै प्राधिकरणबाट हराएको समाचार सौर्यले बिहीबार मात्र छापेको थियो । पत्रिकामा समाचार प्रकाशन भएपछि छानबिनलाई तीव्रता दिँदै प्राधिकरणले सम्बन्धित कर्मचारीसँग बयान थालेको हो । ‘खोइ कर्मचारीसँग स्पष्टीकरण त धेरै पहिले लिएको हो तर कुनै कारबाही गरिएको थिएन, बल्ल बयान लिन सुरु गरिएछ, पत्रिकामा समाचार प्रकाशन भएपछि प्राधिकरण तात्यो,’ एक कर्मचारीले भने ।
महाशाखाको टोलीले निरीक्षणका क्रममा वीरगन्ज वितरण केन्द्रका कर्मचारीको मिलेमतोमा बिलिङ सिस्टम नै बिगारेर यो दश वर्षको अवधिमा मिल्सले चोरी गरेको थियो । विद्युत् चोरीबारे छानबिनका लागि प्राधिकरण सञ्चालक समितिका सदस्य विश्वप्रकाश गौतमको संयोजकत्वमा रहेको चुहावट पुनरावलोकन समितिले तत्कालीन वीरगन्ज वितरण प्रमुख शेखर दत्त र सन्तोषकुमार जैसवाललाई कारबाहीको सिफारिससमेत गरेको थियो । पछि उद्योगसँग मिलेर संयोजक गौतम र तत्कालीन कानुन विभागका प्रमुख एवं सदस्य–सचिव गोविन्द खरेलले फाइल गायब गरेको आरोप प्राधिकरणका कर्मचारीको छ ।
फाइल गायब भएको थाहा हुँदाहुँदै प्राधिकरणका निमित्त कार्यकारी निर्देशक टीकाराम विसी, ऊर्जासचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हरिराम कोइरालाले समेत बेवास्ता गरेको आरोप उनीहरूको छ । तर, सचिव कोइरालाले फाइल हराएकोबारे छानबिन भइरहेको र दोषी सबै कर्मचारीलाई कारबाही हुने बताए ।

प्रतिक्रिया