सरकारी विद्यालयमै चर्को शुल्क

इलाम, १९ जेठ । सरकारले माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको व्यवस्था गरे पनि यहाँका दुर्गम गाउँका सरकारी विद्यालयले विद्यार्थी भर्नासँगै चर्को शुल्क असुलिरहेका छन् । विद्यालय सुधार तथा शिक्षक दरबन्दी नपाएको भन्दै ती विद्यालयले अभिभावकमाथि आर्थिक भार थपिरहेका हुन् ।
इभाङ–६ स्थित जीवनज्योति माध्यमिक विद्यालयले भर्ना शुल्कका साथै विभिन्न शीर्षकमा रकम असुल्ने गरेको अभिभावकले बताएका छन् । उक्त विद्यालयले कक्षा ६ देखि १० सम्म भर्ना शुल्क ६ सयदेखि एक हजार एक सय रुपियाँसम्म लिइरहेको छ । विद्यालयले कक्षा ६ का लागि प्रतिविद्यार्थी ६ सय, ७ मा सात सय, ८ मा आठ सय, ९ मा नौ सय र १० मा एक हजार एक सय रुपियाँका दरले शुल्क लिएको छ । त्यतिमात्र होइन, विद्यालयले निजीमा जस्तै मासिक शुल्कसमेत असुल्ने गरेको छ । मासिक शुल्क भन्दै कक्षा ९ मा प्रतिविद्यार्थी दुई सय ५० र १० मा दुई सय ७५ रुपियाँका दरले रकम असुल्ने गरिएको छ । परीक्षा शुल्क अर्धवार्षिक र वार्षिक गरी दुईपटक लिने गरेको पाइएको छ ।
चर्को शुल्कका कारण आफ्ना छोराछोरी पढाउन समस्या भएको अभिभावकको गुनासो छ । माध्यमिक तहसम्म नि:शुल्क शिक्षा भनेर घोषणा गरिसकेको भए पनि विद्यालयले भने शुल्क उठाएर मनपरी गरिरहेको उनीहरू बताउँछन् । अभिभावक मानवीर लिम्बूले पैसा हुनेले त छोराछोरी पढाउन सक्ने भए पनि आफूजस्ता पैसा नहुनेले सरकारी विद्यालयमा पनि पढाउन नसक्ने अवस्था आएको बताए ।
प्रधानाध्यापक मदनकुमार राईले विद्यालय सुधारका लागि कुनै शीर्षकबाट आम्दानी नहुने भएकाले अभिभावकबाट शुल्क लिइने गरेको बताए । उनले विद्यालयका निजी शिक्षकलाई तलब खुवाउन बाध्य भएर विद्यार्थीसँग शुल्क लिएको स्वीकार गरे । ‘माविसम्मको अनुमति दिएको भए पनि दरबन्दी एउटै नदिएकाले बाध्य भएर अभिभावकसँग शुल्क लिएका हौँ,’ उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण राईले विद्यालयको आर्थिक र भौतिक सुधारका लागि सहमतिमै शुल्क लिने गरिएको दाबी गरे ।
यसैगरी, चुलाचुली–९ स्थित बाँझोगाउँ माविले पनि सहयोग शुल्कका नाममा रकम असुलिरहेको छ । उसले कक्षा १ देखि १० सम्मका विद्यार्थीबाट दुई किस्तामा दुई सय ५० देखि एक हजार आठ सय रुपियाँसम्म शुल्क असुल्दै आएको छ । उक्त विद्यालयले कक्षा १, २ र ३ लागि वार्षिक दुई सय ५०, ४ र ५ मा तीन सय, ६ मा ६ सय, ७ मा सात सय, ८ मा नौ सय रुपियाँ शुल्क असुल्ने गरेको छ । त्यस्तै कक्षा ९ का लागि एक हजार पाँच सय र १० मा एक हजार आठ सय रुपिँया शुल्क लिइने गरेको छ ।
प्रधानाध्यापक धर्म आचार्यले निजी स्रोतमा राखिएका चार शिक्षकलाई विद्यालयले नै तलब खुवाउनुपर्ने अवस्था भएकाले अभिभावकसँग शुल्क असुल्न बाध्य भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भण्डारीले अभिभावक भेलाको निर्णयअनुसार नै शुल्क असुल्दै आएको दाबी गरे । विद्यार्थी नभएका अभिभावकबाट समेत वार्षिक दुई सय ५० देखि एक हजारसम्म सहयोग शुल्क लिइने उनको भनाइ छ । ‘त्यति नगरी विद्यालय चलाउन सम्भव छैन, विद्यालय नचले यहाँका विद्यार्थी झापा र मोरङसम्म जान बाध्य हुनेछन्,’ उनले भने ।
यी त उदाहरण मात्र हुन्, जिल्लामा यस्ता थुप्रै विद्यालय छन्, जसले विभिन्न बहानामा नि:शुल्क शिक्षाको खिल्ली उडाइरहेका छन् । जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले यस सम्बन्धमा कुनै जानकारी नआएको उल्लेख गर्दै सरकारी विद्यालयले अभिभावकसँग रकम लिएको पाइए तत्काल कारबाही गरिने बताए । नियमविपरीत शुल्क लिने अधिकार कसैलाई नदिइएको जनाउँदै उनले भने, ‘विद्यालयले कुनै पनि शीर्षकमा अभिभावकसँग शुल्क लिन पाउँदैनन् ।’ सरकारले माविसम्म नि:शुल्क शिक्षाको ग्यारेन्टी गरेकाले विद्यालयले कुनै पनि शीर्षकमा रकम असुल्नु गैरकानुनी ठहर्ने उनको भनाइ छ ।

प्रतिक्रिया