मंगलसिद्धि मानन्धरले एमाले छाडे

काठमाडौं : एमाले अनुशासन आयोगका सदस्य डा. मंगलसिद्धि मानन्धरले पार्टी छाडेका छन् । संघीयतालगायतका विषयमा पार्टी प्रतिबद्धताअनुरुप अघि बढ्नाको साटो अग्रगामी परिवर्तनको बाधक बनेको महसुस गर्दै पार्टी त्यागेको जानकारी बिहीबार डा. मानन्धरले विज्ञप्तिमार्फत गराएका हुन् ।
डा. मानन्धरले अध्यक्षलाई सम्बोधन गरी लेखेको राजीनामापत्रमा ‘प्यारो पार्टीमा बसिरहने स्थिति नरहेको’ उल्लेख छ । एमाले उपाध्यक्ष अशोक राईसहित आदिवासी जनजाति पृष्ठभूमिका नेताहरुले पार्टी त्यागेर नयाँ पार्टी गठनको गृहकार्य केही दिनअघि गरेका थिए । त्यसै क्रममा उनीहरुले एकैपटक नभई दिनहुँ पालैपालो पार्टी त्याग्ने रणनीति बनाएका छन् । सोअनुसार पूर्वसभासद् पासाङ शेर्पा र पोलिटब्युरो वैकल्पिक सदस्य विजय सुब्बाले पार्टी त्यागेको घोषणा गरिसकेका छन् ।
मकहाँ राजीनामा आएको छैन : खनाल
आदिवासी जनजाति नेताहरुले पार्टी त्याग्ने योजना बनाएको विषयमा अध्यक्ष झलनाथ खनालले पार्टीभित्रका समस्या विधिअनुरुप समाधान गरिने जनाएका छन् । बिहीबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खनालले एमालेसँग परिवर्तनको सही नीति र कार्यदिशा भएको जनाउँदै बाहिर जे हल्ला चले पनि छलफलबाट समाधानमा पुगिने दाबी गरे । पार्टी छाडेको भनिएका नेताहरुले आफूसमक्ष राजीनामा नदिएको उनको जनाउ थियो ।
‘एमाले सामाजिक–आर्थिक रुपान्तरण, समाजका सम्पूर्ण विभेद हटाउने सही नीति र कार्यदिशा भएको पार्टी हो,’ उनले भने, ‘जीवन्त पार्टीमा मतभेद हुन्छन्, हल्ला जे भए पनि विधिअनुरुप समस्या समाधान गर्ने र एकतालाई सुदृढ गर्ने काम गर्छा ।’ (सौस)

प्रतिक्रिया