चुनाव घोषणा नौटंकी : एमाले

काठमाडौं, १९ जेठ । नेकपा(एमाले)ले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको संविधानसभाको निर्वाचन घोषणालाई नौटंकीको संज्ञा दिएको छ । संविधानसभा विघटनबारे पार्टीको धारणा सार्वजनिक गर्न बिहीबार पार्टी कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा(माओवादी)र उसको नेतृत्वको सरकारले चुनाव गराउन नभई सत्ताकब्जा गर्ने नौटंकीका रुपमा चुनाव घोषणा गरेको आरोप लगाए ।
‘यो चुनाव गराउन घोषणा गरिएको होइन, चुनावका लागि ऐनकानुन बनाउने संसद् सिध्याएर षड्यन्त्रपूर्ण तवरले गरिएको चुनाव घोषणा नौटंकीमात्र हो,’ अध्यक्ष खनालले भने । बहुमतप्राप्त प्रधानमन्त्रीसँग सामान्यत: संसद् विघटनको अधिकार भए पनि वार्तामा रहेका अन्य दललाई छलेर संविधानसभा विघटन गर्न सक्ने अधिकार नभएको उनले बताए ।
पार्टीका शीर्षस्थ सबै नेता उपस्थित पत्रकार सम्मेलनमा खनालले जारी गरेको विज्ञप्तिमा संविधानका विवादित विषयमा भएका सहमतिबाट पछि हटेर एमाओवादीले आदिवासी जनजातिलाई सडक कब्जाका लागि उत्तेजित बनाउने, पहाडी क्षेत्रमा एकल जातीय पहिचानकै आधारमा र आधा जनसंख्या भएको तराईमा जातीय विविधताविपरीत एक वा दुईमात्र प्रदेश बनाउने अडान राखेर जातीय विद्वेष, साम्प्रदायिक सद्भाव बिथोल्न र मुलुकलाई द्वन्द्वको भुमरीमा धकेलेर सर्वसत्तावादी शासन लाद्न खोजेको स्पष्ट भएको उल्लेख छ ।
प्रधानमन्त्री डा. भट्टराईले १२ बुँदे सहमतिबाट बनेको राजनीतिक सहकार्यको यात्रालाई चकनाचुर पारेको उल्लेख गर्दै एमालेले सहमतिको बाटाबाट अघि बढ्न सबै पक्षलाई आह्वानसमेत गरेको छ । बहुजातीय वा साझा पहिचानका आधारमा प्रदेशहरुको नामांकनको प्रस्ताव राखेकै आधारमा एमालेलाई संघीयताविरोधी पार्टी भनेर लगाइएको आरोपको पनि एमालेले खण्डन गरेको छ । ‘पहिचानलाई प्रदेशको नामांकन बहुपहिचान वा साझा पहिचानमा आधारित हुनुपर्छ भन्ने प्रस्ताव राखेकै आधारमा हाम्रो पार्टीलाई संघीयताविरोधी र संविधानसभाविरोधीका रुपमा लगाइएको आरोपको भ्रत्र्सना गर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
एमालेले एमाओवादी नेतृत्वको सरकार पदमुक्त भइसकेकाले दलहरुबीच सहमतिका आधारमा नयाँ सरकार गठन गर्नुपर्ने बताएको छ । ‘राष्ट्रपतिको पत्र र अन्तरिम संविधानअनुरुप प्रधानमन्त्री पदमुक्त भइसकेका छन्, हामीले पदमुक्त प्रधानमन्त्रीसँग राजीनामा मागेका होइनौंँ,’ नेता केपी शर्मा ओलीले भने, ‘अब दलहरुबीच सहमति गरेर अर्काे सरकार गठन गर्न मात्र बाँकी हो ।’ उपाध्यक्ष वामदेव गौतमले संविधानसभा विघटन गरी चुनाव घोषणा गर्दा एमाओवादी नेतृत्वले अन्य दललाई झुक्याएको भन्दै त्यस दिनको वार्ताबारे बेलीविस्तार लगाएका थिए ।

प्रतिक्रिया