फोरम (लोकतान्त्रिक) फुट्ने

काठमाडौं, १८ जेठ । मधेसी जनाअधिकार फोरम (लोकतान्त्रिक) फुटको संघारमा पुगेको छ । बिहीबार बसेको पार्टी अनुशासन समितिको बैठकले दोस्रो बरियताका नेता शरत्सिंह भण्डारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि पार्टी फुटको स्थितिमा पुगेको हो ।
बिहीबार नै पार्टीको राजनीतिक समितिको बैठक बसेको थियो । बैठकमा अुनशासन समितिले गरेको निर्णय सुनाइएको थियो । १९ सदस्यीय राजनीतिक समितिको बैठकमा भण्डारी पक्षधर नेताहरूलाई बोलाइएको थिएन । आफूहरूलाई थाहै नदिई बैठक बोलाइएको भन्दै भण्डारी पक्षधरले आक्रोश पोखेका छन् । उनीहरूले बहुमतबाट पार्टी अध्यक्ष विजय गच्छदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
‘पार्टीको नीतिविपरीत काम हुन थालेपछि भण्डारीलाई स्पष्टीकरण माग्ने निर्णय भएको हो,’ गच्छदारपक्षीय नेता रामेश्वर राय यादवले भने, ‘पार्टीका सदस्यहरू पार्टीको नीति र अनुशासनभन्दा बाहिर जान मिल्दैन ।’ नेता भण्डारीले भने आफू मधेसीका मुद्दा लिएर अघि बढेको बताए । ‘मैले मधेसवादको मुद्दा लिएर अघि बढ्दा के अपराध गरेँ ?’ भण्डारीले प्रश्न गरे, ‘पार्टीलाई घाटा हुने मैले कुनै काम गरेको छैन । पार्टीले मलाई कसरी कारबाही गर्न सक्छ ?’
गच्छदारपक्षीय एक नेताले भण्डारीलाई कारबाही गरिने दाबी गरे । ‘पार्टीको विधान मान्न हामीले स्पष्टीकरण सोधेका हाँै । उहाँलाई कारबाही गर्ने निष्कर्षमा पुगिसकेका छाँै,’ ती नेताले भने ।
भण्डारी पक्षधर नेता प्रमोद गुप्ताले भने आफूलाई थाहै नदिई राजनीतिक समितिको बैठक बोलाइएको भन्दै पार्टी अध्यक्ष गच्छदारप्रति आक्रोश पोखे । ‘मलाई किन बैठकमा बोलाइएन ? यस विषयमा पार्टी अध्यक्षसँग स्पष्टीकरण लिन्छाँै । यसले पनि चित्त नबुझे उहाँलाई बहुमतबाट हटाउँछौँ ।’
केही महिनायता गच्छदार र भण्डारीको सम्बन्ध चिसिँदै गएको छ । भण्डारी र उनी पक्षधर नेताहरू उपेन्द्र यादवले नेतृत्व गरेको बृहत् मधेस मोर्चामा सक्रिय छन् । भण्डारी पक्षधर नेताले केही महिनाअघि पार्टीमा अध्यक्ष गच्छदारको विरोधमा हस्ताक्षर संकलन गरी पार्टी नेतृत्वलाई बुझाएका थिए । त्यतिबेला चैतपछि पार्टीले कठोर निर्णय गर्ने भन्दै असन्तुष्टहरूको आवाजलाई थामथुम पारिएको थियो ।
स्रोतका अनुसार भण्डारीपक्षधर नेताहरू नयाँ पार्टी दर्ता गर्ने निष्कर्षमा पुगेका छन् । पार्टीको नाम के राख्ने भन्ने विषयमा छलफल भइरहेको पनि स्रोतको भनाइ छ । संविधानसभा विघटन भएपछि भण्डारी पक्षधर नेताहरूलाई नयाँ पार्टी दर्ता गर्न सजिलो हुनेछ । एकपटक फुटिसकेको पार्टीलाई फेरि फुटाउन कानुनी रूपमा नमिल्ने भएकाले संविधानसभा रहँदासम्म भण्डारी पक्षधर नेता चुप लागेर बसेका थिए ।

प्रतिक्रिया