वस दुर्घटनामा ४ को मृत्यु (तस्बिर सहित)

सिन्धुपाल्चोक, १८ जेठ । काठमाडौंवाट बाह्रविसे मानेश्वाँरा तर्फ जाँदै गरेको यात्रुवस सिन्धुपाल्चोकको कोठे नजिकै सुनकोशी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।
बा २ ख ३३४७ नम्बरको वसमा सवार २७ जनाको उद्धार भएको छ भने बाँकी वेपत्ता छन् । वसमा करिब ४५ जना यात्रु रहेको समान्य घाईते ठाकुरध्वज थापाले वताए ।
मृत्यु हुनेमा फुल्पीङडाँडा–८ का १९ बर्षीय टीकाराम नेपाल, सोही स्थानका १७ बर्षीय जयनन्द तामाङ, राम्चे–२ की माईली तामाङ र सनाखत हुन नसकेका सहित चार जना रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाईते फुल्पीङडाँडा–५ की शोभा तिमल्सिना, रेवती तिमल्सिना र स्वस्थानी तिमल्सिनालाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लगिएको छ । बाँकीको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भईरहेको छ ।
बेपत्ता हुनेहरुमा पुल्पीङडाँडा–५ की लक्ष्मी तामाङ, बाह्रविसे–५ का राजिव भण्डारी र थुम्पाखर–७ सुन्तली लामा भएको पुष्टी भएको छ । अन्य बेपत्ताहरुको खोजी कार्य भईरहेको प्रहरी नायव उपरीक्षक वसन्त कुमार लामाले वताए ।
तीव्र गतिमा रहेको वस नियन्त्रणमा लिन नसकेका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र रायमाझीले वताए ।
वस सडकवाट करिब दुई सय मिटर तल खसेको छ । नदीमा वसको पाङ्ग्रा मात्र देखएको प्रहरी भनाई छ । वसको पछाडिको सिसा फुटेकाले बेपत्ताहरुलाई नदीले वगाएको हुन सक्ने नायव उपरीक्षक लामाले वताए ।

प्रतिक्रिया