न्यायाधीश बमको मृत्यु


काठमाडौं, १८ जेठ । गोली लागेर गम्भीर घाईते सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको निधन भएको छ ।
अज्ञात दुई जनाको समूहले गोली प्रहार गरेर घाईत बनाईएका न्यायाधीश बमको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको डा.भरत रावतले जानकारी दिए ।
आज विहान करिव ११ बजेर ६ मिनटमा काठमाडौंको शंखमुलस्थित यु.एन. पार्क नजिक न्यायाधीश बमलाई कालो पल्सर मोटरसाईकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको थियो ।
चार वटा गोली लागेर घाईते बमको तत्काल थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि लगिएको थियो ।
बा ८ च ९८५३ नम्बरको सेतो कारमा सर्वोच्च जाँदै गरेका उनलाई गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागेर न्यायाधीश बमसँगै रहेका एक जना साथी पनि घाईते भएका छन् । अंग रक्षक भने सकुशल रहेको प्रहरी भनाई छ ।
घटना स्थलमा नेपाल वाद नामक पार्टीको पर्चा फेला परेको छ ।
न्यायाधीश बम कलंकीबाट बंगलामुखी मन्दिरमा दर्शन गरेर सर्वोच्च तर्फ जाँदै गर्दा सो घटना भएको थियो । घटना थाहा पाएलगत्तै प्रधानन्यायाधीश खिलराज रेग्मी अस्पताल पुगेका थिए ।
न्यायपरिषदले बमलाई भ्रष्टाचार आरोपमा महाभियोगका लागि संसदमा सिफारिस समेत गरेको थियो ।
बम पछिल्लो समय सर्वोच्चमा निष्कृय रहेका थिए । उनलाई सर्वोच्चले कुनैपनि मुद्धा हेर्न दिएको थिएन ।

यसैबीच प्रहरी प्रधान कार्यालयले एआईजी कुवेरसिंह रानाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

दोषीले उमुक्ति पाउदैन
प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री विजय गच्छेदारले न्यायाधीश बमलाई गोली प्रहार गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
गोली लागेको थाहा पाएपछि अस्पताल पुगेका उनीहरुले गोली प्रहार गर्नेको खोजी कार्य शुरु भईसकेको बताए ।
प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाहले पनि दोषीलाई खोज्न सम्बन्धित निकायलाई निर्देशन दिई सकेको बताए । उनले राजधानीका विभिन्न स्थानमा गोली प्रहार गर्ने व्यक्तिको हुलीयाका आधारमा अनुसन्धन शुरु गरेको बताएका छन् ।

प्रतिक्रिया