लोपोन्मुख जाति सहकारीप्रति आकर्षित

काठमाडौं, १८ जेठ । लोपोन्मुख जाति पनि सहकारीतर्फ आकर्षित भएका छन् । चेपाङ, राउटेलगायत पिछडिएका जाति डोम, मुसहर, चमार, धोबी, चालिमार, पासवान, बनकरियालगायतका जातिहरू पछिल्लो समय सहकारीमा आबद्ध

भएका हुन् ।
सहकारीमा आवद्ध भई बचत गर्नुका साथै संस्थाबाट ऋण लिई आयआर्जन हुने काममा यी जाति पनि आकर्षित भएका नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ । उनीहरू साना किसान सहकारी संस्थामार्फत सहकारीमा आबद्ध भएका संघले बताएको छ ।
संघका अनुसार मुलकभरका चेपाङ समुदायमा चार, राउटे समुदायमा एक, बनकरिया समुदायमा एक र डोम, मुसहर, चमार, धोबी, चालिमार, पासवानलगायत गरी १५ वटा सहकारी स्थापना भइसकेका छन् । त्यस्तै देशका विभिन्न स्थानमा रहेका पिछडिएका जातिहरू पनि सहकारीमा आबद्ध भएका छन् । संघको अगुवाइमा सहकारीको महत्त्व दर्साइ उनीहरूलाई सहकारीमा आबद्ध गराइएको साना किसान बैंक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले जानकारी दिए ।
‘संघ नेतृत्वमा सहकारी स्थापना गरिदिन्छौँ,’ पाठकले सौर्यसँग भने उनीहरूलाई आवश्यक ज्ञान प्रदान गरी सहकारी हस्तान्तरण गरिदिन्छौँ । ‘सहकारीमा बचत गर्नुका साथै संस्थाका विभिन्न क्रियाकलापमा समेत सहभागी हुने बढेका छन्,’ पाठकले भने, ‘सहकारीमा आबद्ध गराई विभिन्न समयमा शिक्षा, स्वास्थ, पशुपालनलगायतका विभिन्न प्रशिक्षणसमेत संघले दिंदै आएका छौँ । सहकारीको लक्षित वर्ग भनेको ग्रामीण समुदाय हो,’ उनले थपे, ‘त्यसैले हामी यसतर्फ लागेका हौँ ।’
‘डडेलधुरामा राउटेहरूले पनि सहकारी सञ्चालन गरी आयआर्जनमूलक काम गरिरहेका छन्,’ संघका महाप्रबन्धक रुद्र भट्टराईले भने, ‘बढीभन्दा बढी सीमान्तकृतलाई सहकारीमा आबद्ध गराउने हाम्रो योजना छ ।’ अन्तर्राष्ट्रिय सहकारी वर्षका सन्र्दभमा विभिन्न समुदायसम्म सहकारी पुर्‍याउने संघले लक्ष्य लिएको उनको भनाइ छ ।
उनीहरूले सहकारीबाट ऋण लिई रुदिलो, चिउरी, तोरी, सालको फूललगायतका मह बनजंगलबाट संकलन गरी प्रशोधनमार्फत बिक्रीवितरण गरिरहेको संघको भनाइ छ । यस्तै, उनीहरूले उत्पादन गरेका गिठ्ठाको चिप्सको राजधानीलगायतका अन्य स्थानमा समेत बिक्री हुँदै आएको छ ।
मकवनपुर जिल्लाका चेपाङ कृषि सहकारी संस्थाका चेपाङले सिस्नुको धुलो उत्पादन गरी राजधानीलगायका अन्य जिल्लामा बिक्री गर्दै आइरहेका छन् । डडेलधुराको सिर्स गाविसस्थित चेपाङहरू पनि साना किसान सहकारीमा आबद्ध भएको संघले जनाएको छ । साना किसान सहकारीमार्फत वितरण गर्दै आएको भत्ताको केही रकम सहकारीमा बचत गर्न थालेका छन् । राउटे समुदायको सहभागिता रहेको सस्थाको सेयर पुँजी हाल दुई लाखभन्दा बढी रहेको उसले जनाएको छ । सहकारीमा आबद्ध भएपछि राउटे समुदायलाई संस्थाबाट फर्निचर बनाउने तालिम, बाख्रापालन, ऋणलगायतका काममा सहज भएको पाठकको भनाइ छ ।
देशभर साना किसान र कृषि सहकारी गरी करिब चार हजार रहेका छन् । जसमा दुई सय ७१ साना किसान सहकारी सञ्चालनमा रहेका छन् । केन्द्रीय संघमा करिब तीन सय प्रारम्भिक संस्था र दुई सय ५० जिल्ला संघ आबद्ध छन् । जसको साढे पाँच अर्बको कारोबार र साढे दुई अर्बको सेयर पुँजी रहेको संघले जनाएको छ । साना किसान सस्थाहरू तीन सय १८ गाविस र ४२ वटा जिल्लामा पुगेर सेवा दिंदै आएका छन् । साना किसान सहकारीमार्फत झन्डै सात अर्ब ४७ करोड ५३ लाखभन्दा बढीको कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया