बोर्ड सदस्य काफ्लेमाथि घुस खाएको आरोप

काठमाडौं, १८ जेठ । भन्सारछुटका लागि उपलब्ध गराइने सिफारिसपत्र बनाएबापत एक लाख रुपियाँ घुस खाएको आरोप नेपाल चलचित्र विकास बोर्डका सदस्य नीलहरि काफ्लेलाई लागेको छ । विदेशबाट चलचित्रसम्बन्धी सामग्री मगाउँदा बोर्डको सिफारिसका आधारमा २.५ प्रतिशत भन्सारशुल्क छुट हुने व्यवस्था सरकारले गरिदिएको छ ।

चावहिलको चुच्चेपाटीस्थित केएल टावरमा बन्दै गरेको मल्टिप्लेक्स हललाई सो सिफारिसपत्र बनाइदिएबापत काफ्लेले घुसबापत सो रकम लिएको हलका म्यानेजर अरुणले बताएका हुन् । सिफारिसपत्र ढिलो प्राप्त भएका कारण विदेशबाट ल्याएको करोडौँको उपकरण भन्सारछुटको अभावमा अलपत्र परेपछि उनले रहस्य खोलेका हुन् । ‘सिफारिसका लागि बोर्डमा विभिन्न च्यानल मिलाउनुपर्छ भन्दै उनले हामीसँग एक लाख रुपियाँ लिए तर सिफारिसपत्र समयमै उपलब्ध गराएनन्’, उनले भने । सिफारिसपत्र बेलैमा नपाएकाले अहिले सामान भन्सारमै अलपत्र परेको र छुट पनि नपाएको गुनासो उनले गरे, ‘पैसा पनि ख्वाइयो, काम पनि बनेन ।’ तीन करोड रुपियाँबराबरको साउन्ड सिस्टम र ब्रसेल्सबाट ल्याइएको प्राजेक्टर केही सातादेखि भन्सारमा थन्किएको उनले बताए । विदेशबाट उपकरण झिकाउनुपर्ने भएपछि भन्सारछुटको आशामा सिफारिसपत्र खोज्दै अरुण बोर्ड पुगेका हुन् ।
सिफारिसपत्र बनाइदिँदा बोर्डमा दस रुपियाँको टिकटबाहेक अन्य कुनै शुल्क बुझाउनुनपर्ने बोर्ड पदाधिकारीहरू बताउँछन् । यस विषयमा छानबिन गर्न बोर्डले एक सदस्यलाई जिम्मेवारी दिएको छ । बोर्डका अध्यक्ष गणेश भण्डारीले काफ्लेले घुस खाएको बारेमा आधिकारिक उजुरी नआए पनि आफूले बाहिरबाटै जानकारी पाएको सौर्यसँग बताए । उनले भने, ‘शंका लागेकोले छानबिनको प्रक्रिया बढाएका छौँ, घुस खाएको पाइए काफ्लेलाई कारबाही गर्छौं ।’ निर्माणाधीन सो हलका लागि बोर्डबाट दुईवटा सिफारिसपत्र जारी भएको पनि उनले खुलाए, ‘एकचोटी सामान खरिद गर्न अमेरिकी डलर सटहीका लागि र अहिलेचाहिँ भन्सारछुटका लागि ।’
यता चलचित्र प्रदर्शकहरूको छाता संगठन नेपाल चलचित्र संघले पनि यो समाचारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । ‘यसरी हलवालालाई दु:ख दिनु राम्रो होइन,’ संघका महासचिव प्रदीप उदयले भने, ‘पहिला राम्ररी छानबिन होस्, दोषी पाइएको अवस्थामा काफ्लेमाथि कारबाही नगरे हामी बोर्डसँग भएका पछिल्ला सम्झौता तोड्न सक्छौँ ।’ चलचित्र प्रदर्शनलाई लिएर हालै बोर्ड र संघबीच दसबुँदे सहमति भएको थियो ।
आरोपी काफ्ले नेपाल चलचित्र निर्माता संघका तर्फबाट बोर्डको सदस्य मनोनीत भएका हुन् । आफ्नै सदस्यमाथि यस्तो आरोप लागेपछि निर्माता संघका उपाध्यक्ष उदय सुब्बाले पनि हल म्यानेजर अरुणलाई भेटेका छन् । उनले भने, ‘नीलहरिले पहिले एक लाख रुपियाँ लिइसकेपछि फेरि डेढ लाख मागेको अरुणले बताए ।’ अरुणसँगको कुराकानी आफूले रेकर्ड गरेको र यसबारे आवश्यक छानबिन सुरु गरिने सुब्बाले जानकारी गराए । निर्माता संघका अध्यक्ष राजकुमार राईले भने आफूलाई यसबारे केही थाहा नभएको बताए । उनले भने, ‘मलाई थाहा त छैन तर यो साँचो हो भने दोषीमाथि कारबाही गर्नैपर्छ ।’
केही दिनअघि सुर्खेतमा भएको चलचित्र महोत्सवमा पनि निर्माता संघलाई जानकारी र सहभागिताको प्रक्रियामा सहयोग नगरेकोप्रति संघ काफ्लेप्रति रुष्ट छ । ‘निर्माता संघकै प्रतिनिधि भएर बोर्ड सदस्य हुने अनि बोर्ड र संघबीच समन्वय नगर्ने, यस्तो पनि हुन्छ’, उनले भने, ‘यसबारे उनीसँग स्पष्टीकरण लिइसकिएको छ, दोषी प्रमाणित भए बोर्डबाट फिर्ता बोलाई निलम्बन गर्न सकिनेछ ।’
उता आरोपी काफ्ले भने बोर्ड सदस्यका रूपमा रहेर थुप्रै काम गरेकाले आफूलाई फसाउने षड्यन्त्रले यस्तो आरोप लगाइएको बताउँछन् । उनले चुनौती दिए, ‘दोषी प्रमाणित गर्न सके जे सजाय पनि भोग्न तयार छु ।’ बोर्ड तथा निर्माता संघमा आफ्नो सक्रियताको डाह गर्नेहरू रहेको र तिनीहरूले नै यस्तो अफबाह फैलाएको आरोप उनले लगाए ।

प्रतिक्रिया