भ्रष्टाचार प्रमाणित भए पद छोड्छु : मनमोहन

नयाँदिल्ली, १८ जेठ । विभिन्न भ्रष्टाचारका काण्डमा आफ्नो नाम मुछिएपछि भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले यसको कडा प्रतिवाद गरेका छन् । भ्रष्टाचारमा आफूलाई मुछ्ने दुष्प्रयास भइरहेको आरोप उनले लगाएका छन् ।
आफूविरुद्ध भ्रामक प्रचारबाजी गरिएको बताउँदै उनले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । भ्रष्टाचार गरेको देखिए तत्काल प्रधानमन्त्री पद त्याग्ने घोषणा उनले गरेका छन् ।
म्यानमार भ्रमणबाट स्वदेश फर्किने क्रममा मंगलबार हवाईजहाजमा केही सम्वाददातासँग कुरा गर्दै डा. सिंहले यस्तो बताएका हुन् । समाजिक अभियन्ता अन्ना हजारेले नेतृत्व गरेको भ्रष्टाचारविरोधी अभियानले उनीसहित अहिलेको मन्त्रिपरिषद्का १५ सदस्य भ्रष्टाचारमा मुछिएको आरोप लगाएपछि डा. सिंहले यसको कडा प्रतिवाद गरेका हुन् ।
आफूमाथि लगाइएको भ्रष्टाचारको आरोपलाई भ्रामक प्रचारबाजीको संज्ञा दिँदै डा. सिंहले भने, ‘यो प्रचार काल्पनिक र निराधार छ । ममाथि लगाइएको आरोप सत्य रहेको पाइयो भने म तत्कालै प्रधानमन्त्रीबाट राजीनामा दिन तयार छु । देशले दिने जस्तोसुकै सजाय भोग्न म तयार छु ।’
हजारेले नेतृत्व गरेको अभियानका सदस्य प्रशान्त भूषणले भने प्रधानमन्त्रीको भनाइको उल्टै प्रतिवाद गरेका छन्् । ‘भ्रष्टाचारी बन्न घुस लिनैपर्छ भन्ने छैन । आफूमातहतका मानिस भ्रष्ट भए भने त्यसको जिम्मेवार मूल नेतृत्वले लिनुपर्छ,’ उनले भने । प्रधानमन्त्री डा. सिंह स्वयंले घुस नलिए पनि उनको मन्त्रिमण्डल भारतको इतिहासकै सबैभन्दा बढी भ्रष्ट रहेको आरोप उनले लगाएका छन् । प्रधानमन्त्री सिंहले आफ्ना मन्त्रीहरूलाई घुस खाने अनुमति दिएको आरोपसमेत उनले लगाएका छन् ।
भारतमा सन् २०१० मा सम्पन्न कमनवेल्थ खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्दा मोटो रकम हिनामिना भएको प्रमाणित भइसकेको छ । त्यतिबेला भारतका प्रधानमन्त्री डा. सिंह नै थिए । खेल सञ्चालनका लागि निर्माण गरिएका पूर्वाधार खेल नसकिँदै भत्किएपछि यसको चौतर्फी आलोचना भएको थियो ।
गत वर्ष भारतमा २–जी मोबाइल फोन सेवा सञ्चालनका लागि लाइसेन्स वितरण गर्नेबेला पनि व्यापक भ्रष्टाचार भएको आरोप लगाइएको छ । यस विषयमा अनुसन्धान जारी छ ।
लाइसेन्स वितरण हुँदाका तत्कालीन सञ्चारमन्त्रीलाई अदालतले अनुसन्धानको दायरामा राखेको छ । सो काण्डमा प्रधानमन्त्री डा. स्ािंहको पनि नाम मुछिएको छ । २–जी काण्डपछि अभियन्ता हजारे भ्रष्टाचार निवारणका लागि कडा कानुन माग गर्दै आमरण अनशनमा बसेका थिए । त्यसयता भारतमा भ्रष्टाचारको विरोधमा माहोल तात्तिएको छ । (एएफपी)

प्रतिक्रिया