संविधान भन्दा बाहिर जाँदिनः राष्ट्रपति

काठमाडौं, १७ जेठ । राष्ट्रपति डा.रामवरण यादवले संविधान, कानून र लोकतन्त्र भन्दा बाहिर नजाने बताएका छन् ।
उनले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नका लागि आफू कानून र संविधान भन्दा बाहिर नजाने दोहराएका हुन् । ‘म कदापी संविधान भन्दा बाहिर पनि जाँदिन र गएको पनि छैन,’ उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै मिल्नु पर्छ ।’
नागरिक समाज सम्बद्ध विभिन्न ६१ वटा संघ/संस्थाका प्रतिनिधिहरुसँग आज शीतल निवासमा भएको भेटमा डा.यादवले सो प्रतिवद्धता जनाएका हुन् ।
भेटमा सहभागी मानव अधिकारवादी नेता सुदिप पाठकका अनुसार राष्ट्रपति डा.यादवले राजनीतिक निकास र संविधानको रक्षाका लागि सबैलाई आह्वान समेत गरेका छन् ।
त्यस क्रममा नागरिक समाजका अगुवाहरुले राजनीतिक संकट समाधानका लागि आग्रह गर्दै निकासका लागि सर्वपक्षीय परामर्श आवश्यक रहेको सुझाव दिएका छन् ।
उनीहरुले राष्ट्रपति डा.यादवलाई कानून, संविधान र लोकतान्त्रिक मूल्य/मान्यता भन्दा बाहिर नजान सुझाव पनि दिएको पाठकले बताए ।
मुलुकमा जातीय सद्भाव आवश्यक रहेको जनाएका नागरिक अगुवाहरुले सबै जातजातिका अधिकारप्रति सजग हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया