दोहोरो अंकले बजार घट्यो


काठमाडौं, १७ जेठ । राजनीतिक संक्रमणको असर सेयर बजारमा एक महिनादेखि परेको छ । जेठ १४ गते संविधान जारी हुने आशामा दोहोरो अंकले बढेको सेयर बजार संविधानसभा भंग भएपछि मंगलबार दोहोरो अंकले घटेको छ ।
संविधानसभाको निर्वाचन भएर एनेकपा माओवादीको नेतृत्वमा सरकार बनेपछि सेयर बजार एकाएक उचाइमा पुगेको थियो । १७ असार ०६५ मा नेप्सेले अहिलेसम्मकै उचाइ अर्थात् एक हजार एक सय ७५ विन्दुसम्म पुग्यो भने तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजार जुवाघर भएको अभिव्यक्ति दिएपछि भने निरन्तर रूपमा ओरालो लाग्दै आएको छ ।
०६८ सालको जेठमा सेयर बजार हालसम्मकै न्यून दुई सय ९२ विन्दुमा पुगेको थियो । त्यसपछिको राजनीतिक घटनाक्रमसँगै सेयर बजारले केही गति लिने क्रम सुरु भएको हो । सरकारले चालु आर्थिक वर्षभित्र नेप्से परिसूचक तीन सय ५० को हाराहारीमा राख्न चाहेकामा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलगायतका सरोकारवाला निकायले सक्दो सेयर बजारसँग सम्बन्धित नीतिनियम खुकुलो बनाए । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जालाई बैंक तथा वित्तीय संस्थाको स्वमूल्यांकनमा धितो राख्न सक्ने खुकुलो नीति ल्याए भने नेपाल स्टक एक्सचेन्जले टी प्लस थ्रीमा कारोबार रकम बुझाउन दलाल कम्पनीलाई निर्देशन दिए । अर्थ मन्त्रालयको तत्वावधानमा सेयर बजार उत्थानका लागि सरकारी स्वामित्वमा रहेका नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थान, नेपाल टेलिकमलगायतलाई सेयर बजारमा लगानी गर्न आह्वान गरियो । नागरिक लगानी कोषले केही करोडका सेयर खरिद पनि गरे तर सेयर बजारमा खासै गति लिन सकेन ।
विगत केही महिनादेखि माओवादी सेना समायोजनको मुद्दा टुंगो लाग्ने, तीन प्रमुख राजनीतिक दलबीचको सात बुँदे सहमति एवं मधेसवादी दलसहित सर्वदलीय सरकार गठन गर्ने राजनीतिक सहमतिको निर्णयसँगै सेयर बजार दोहोरो अंकले बढेको थियो ।
नेपाल स्टक एक्सचेन्जले सेयर बजार तेजीले बढ्दा वा घट्दा सर्किट ब्रेकर लगाएर कारोबार रोक्ने गरेको छ । तीन घन्टा हुने कारोबारमा तीन प्रतिशतले सेयर बजार बढे वा घटेमा १५ मिनेटको लागि कारोबार स्थगित गर्ने, चार प्रतिशतले सेयर बजार घटे वा बढेमा ३० मिनेटका लागि कारोबार स्थगित गर्ने र पाँच प्रतिशतले घटे वा बढेमा उक्त दिनभरिका लागि कारोबार स्थगित गर्ने नीति नेप्सेले लिएको छ । पछिल्ला दिनमा प्राय: तीनवटै तहको सर्किट ब्रेकर लागेर छोटो समयको लागि मात्र कारोबार हुने गरेको छ ।
सेयर विश्लेषक रवीन्द्र भट्टराईका अनुसार संक्रमणकालीन अवस्थामा लगानीकर्ताले राजनीतिक गतिविधि हेरेर लगानी गर्ने गरेको बताए । छोटो समयका लागि गरिने यस्ता लगानी राजनीतिक निर्णयसँगै फेरिने गरेको उनको अनुभव छ । दीर्घकालीन लगानीको लागि राजनीतिक विकासको आधारमा गरिने निर्णय उपयुक्त नहुने उनले बताए । पछिल्लो समयमा सेयर बजारमा दीर्घकालीन लगानीकर्ता भन्दा सट्टेबाजहरूले कमाएको उदाहरण रहेको छ । थोरै नाफामा सेयर किनबेच गर्ने यी लगानीकर्ताले राजनीतिक विकास क्रमलाई आधार बनाएर लगानी गर्ने गरेको एक सेयर दलालले बताए ।
संविधानसभा भंग भएपछि मंगलबार भएको पहिलो दिनको सेयर बजार ५ प्रतिशत सर्किट ब्रेकर लागेर घटेको छ । करिब सवा दुई बजे २० दशमलव २८ विन्दुले सेयर बजार घटेपछि त्यस दिनको लागि कारोबार स्थगित गरिएको थियो । सर्किट ब्रेकर लागेर कारोबार उकालो लाग्दा वा ओरालो लाग्दा भने सेयर कारोबार रकम न्यून मात्र हुने गरेको छ । पूरै समय कारोबार गर्न नपाइने हुँदा मंगलबार पनि ८४ लाख ४४ हजार ८ सय ५१ रुपियाँको मात्र कारोबार भयो । कुल ५० कम्पनीको ६ सय ४७ कारोबारमा सो रकम बराबरको कारोबार भएको हो । ५० कारोबारमा सात कम्पनीको सेयर मूल्य वृद्धि भएको थियो भने बाँकी सबै कम्पनीको सेयर मूल्यमा गिरावट आएको थियो । बैंक अफ एसिया, बैंक अफ काठमाडौं, चिलिमे हाइड्रोपावर, नेपाल टेलिकम, नेपाल इन्भेस्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, स्वावलम्बन विकास बैंक, अरुण हाइड्रोपावर, कुमारी बैंक, जानकी फाइनान्स, एस डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, प्राइम लाइफ इन्स्योरेन्स, एनसीसी बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, मुक्तिनाथ विकास बैंक र गुराास लाइफ इन्स्योरेन्स कम्पनी उच्च गतिमा सेयर मूल्य गुमाउने कम्पनी हुन् । समूहगत रूपमा सबैभन्दा बढी नेपाल टेलिकम समाहित रहेको अन्य समूहमा ५८ दशमलव ७३ विन्दुले गिरावट आएको छ भने जलविद्युत् समूहमा  ४३ दशमलव ९८ विन्दुले गिरावट आएको छ । बैकिङ परिसूचक १९ दशमलव ८३ अंकले, विकास बैंक परिसुचक ३ दशमलव ५२ अंकले र बिमा समूह परिसूचक नौ दशमलव ७९ अंकले गिरावट आए पनि होटल समूह परिसूचकमा भने आश्चर्यजनक रूपमा २९ दशमालव ७६ अंकले वृद्धि भएको छ ।

प्रतिक्रिया