गोविन्द : अन्य नायिकाका तुलनामा तपाईंका चलचित्र त्यति छैनन् नि ?
नन्दिता : मेरा चलचित्र कम छन् जस्तो मलाई लाग्दैन । वर्षमा चार–पाँचवटामा अभिनय गरिरहेकी छु । तर, म अरू नायिकाजस्तो एकैपटक दुई–तीन चलचित्रमा अभिनय गर्दिनँ । यो हिसाबले हेर्दाचाहिँ कमी देखिएको हुन सक्छ । एउटा चलचित्रको काम पूरै नसकी अर्कोमा जान्नँ ।
गोविन्द : तपाईं सबैसँग त्यति खुल्न सक्नुहुन्न नि ?
नन्दिता : यो मेरो सानैदेखिको बानी हो । जोकोहीसँग सुरुमै खुल्न सक्दिनँ, पटकपटकको भेटघाट अनि चिनजानपछिचाहिँ खुल्छु । एकै भेटमा जो कसैसँग खुलिहाल्न हुँदैन पनि ।
गोविन्द : एक्सन भूमिकामा त्यति देखिनुहुन्न । तपाईंलाई एक्सन गर्न आउँदैन ?
नन्दिता : एक्सन गर्न सक्छु र आउँछ पनि । तर, धेरै राम्रो भने होइन । पहिलेका चलचित्रमा एक्सन गरेकी छु, अहिले आएर कमी भएको हो ।
गोविन्द : कलाकारितामा लागेर अरू कुनै रहर खोसिएको अनुभूति गर्नुभएको छ कि ?
नन्दिता : यसमा नलागेको भए म स्टाफ नर्स हुन्थेँ होला । यता लागेर त्यो रहरचाहिँ अधुरै रह्यो ।
गोविन्द : कलाकारितामा लागेपछिका अप्ठ्यारा के हुँदा रहेछन् ?
नन्दिता : अरू अप्ठ्यारो त त्यस्तो केही छैन तर आवश्यक परेका बखत आफन्त र परिवारलाई समय दिन पाइँदैन ।
गोविन्द : सिनेमाकी नायिका पर्नुभो, मन पराउने त थुप्रै होलान् नि ?
नन्दिता : चलचित्रकी नायिका भएर मात्र होइन, विवाह गर्ने उमेर पुगेका योग्य केटीहरूलाई मन पराउनेहरू त भइ नै हाल्छन् । मन पराउनु राम्रो नै हो ।
प्रतिक्रिया