सीमान्तकृत नेपालीको विम्ब

सोमबार साँझको अन्त्यसँगै सर्वनाम नाट्य थिएटरमा दस दिनदेखि मञ्चन भइरहेको नाटक कथावाचनको अन्तिम शो सकियो । घिमिरे युवराजद्वारा निर्देशित अति सामान्य मान्छेका कहानीमा आधारित यो नाटक स्व. रमेश विकल र नयनराज पाण्डेले लेखेका कथाको फ्युजन हो । विसं ०२४ मा मदन पुरस्कार पाएको विकलको ‘नयाँ सडकको गीत’ र पाण्डेको चर्चित कथा ‘प्रवास’ को नाट्य सम्मिश्रणलाई सर्वनामको आयोजनामा शिल्पीले प्रस्तुत गरेको हो ।
नाटकले एउटै बेडमा सुत्नुपर्ने पति–पत्नीको अन्तरसंघर्षलाई मूल विषयवस्तु बनाएको छ । काठमाडौं जहाँ दु:खको ठूलो पोखरीमा संघर्षरत केही पात्रहरू सल्बलाउँछन् । एउटा दु:खी पत्रकारले भोग्नुपरेको संघर्ष, सामाजिक द्वन्द्व र त्यो संघर्षमा चेप्टिने नागरिकहरूका विम्बहरूमार्फत् नाटकले आममान्छेको जीवनलाई सम्बोधन गर्छ । के एउटी महिला दृष्टिविहीन श्रीमान्सँगै ‘माग्न’ मूल सडकमा बसिरहँदा ‘ट्राफिक’जस्ता ब्वाँसाहरूबाट सुरक्षित रहन सक्छे ? वा आफ्नो बैंसालु रूप बेचेरै जीवनको पांग्रा घिर्सानु उसको नियति हो ? युवराजको उत्कृष्ट निर्देशन, पशुपति राई, जीवन बराल, सुदाम छत्कुलीलगायतका अन्य कलाकारको जीवन्त अभिनय, लोकेन्द्र लेखकको प्रकाशको प्रभावकारी परिचालनद्वारा उत्पन्न भएको ‘रंगमञ्चको भाषा’ले उक्त सार्विक प्रश्नहरूलाई जीवन र गति दिएको छ । संगीत, भेषभूषालगायत पक्ष आँखा र कानलाई शीतलता दिने किसिमकै छन् ।
पति–पत्नीबीचको सम्बन्ध समय र पैसाका कारण कसरी विभक्त हुन्छ ? नाटकले यसको कथा भन्छ । नाटकका पात्र, परिवेश, घटनाक्रमले यसलाई उत्कृष्ट बनाइदिएको छ । साप्ताहिक पत्रिका ‘प्रवास’का सम्पादक र प्रकाशकबीचको संघर्षले नेपालको कुनै बेलाको साप्ताहिक पत्रिका प्रकाशनको दयनीय आवस्थाको झल्को दिन्छ । यता, ‘नयाँ सडकको गीत’को दृष्टिविहीन श्रीमान्को ‘सुन्दरी’ श्रीमतीलाई हेर्ने शंकालु नजर र श्रीमतीलाई आँखा नदेख्ने श्रीमान्सँगै यात्रुहरूसँग केही ‘माग्न’ सडकमा बस्दा उत्पन्न हुने जीवनप्रतिको वितृष्णालाई बडो कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
‘कथावाचन’मा कलाकार स्वतन्त्र छ, आफ्नो कला प्रस्तुत गर्न, सायद कथामा आफूलाई व्यक्त गर्दा कलाकार बढी निर्बन्ध हुन्छ । दुइटा कथाको सारवस्तु एउटै नाटकमा समायोजन गरेर रंगमञ्चमा उतार्नु सायद चुनौतीपूर्ण काम हो ।
नाटकले देखाउँछ– मानव जीवनको केन्द्रमा एउटा कहालीलाग्दो त्रासदी छ– द्वन्द्व, षड्यन्त्र र संघर्षको । तर, त्यसलाई भोग्न हामी अभिशप्त छौँ । ती त्रासदी बिर्सन सुन्दर कथानकहरूको रंगीचंगी कल्पना गर्छौं र इन्द्रेणी रंगका सपनाको महल ठड्याउँछौँ । तर, जीवनबारे बोध हुँदाहुँदै पनि हाम्रो जीवन भ्रामक छ, सुन्दर नभएर कष्टकर छ, रंगीचंगी नभएर कालो छ । नयाँ सडकमा कचौरा थापेर मागीबस्ने माग्नेको जीवनजस्तै, जसलाई पछि सुन्दरी श्रीमतीले छाडिदिन्छे र ऊ गाडीले किचिएर बीच सडकमै मर्छ ।
मान्छेले चाहेजस्ता जीवनका रेखाहरूको आफैँ निर्माण गर्न सक्दैन । साथसाथै त्रासदी खेपर बाँचिरहनुपर्ने र मृत्युको अन्तिम लक्ष्यमा पुगेर टुंगिने नियतिबाट पनि मुक्त छैन जीवन भन्ने नाटकले देखाउँछ ।
नाटक हेर्दाहेर्दै लाग्छ– दु:खका कथाहरू कहिल्यै पुराना हुँदैनन् । दु:खले दु:खीलाई जीवनभरि पछ्याइरहन्छ । ती जति नै पुराना भए पनि सधैँ नयाँजस्तै लाग्छन् । जीवनका अनुत्तरित प्रश्नहरूलाई फेरि साक्षात्कार गराउँछन् नयाँ सडकका गीतहरूले । दृष्टिविहीन पतिको अवसान पर्खिरहेकी श्रीमतीको मनको चाहना एकाएक मोडिन्छ र ऊ जीवनको चर्को भागदौडमा कसरी नगरबधु बन्छे त्यो जीवन्त ढंगले देखाइन्छ । कुनै बेलाचाहिँ नाटक विवरणात्मक भएको भान हुन्छ ।
नाटकको एउटा पाटोले ‘गरिखान नसक्ने’हरूमाथि पर्ने प्रकोपलाई संकेत गर्छ । उल्लेख्य हदमा जीवनका विविध प्रतिस्पर्धामा सरिक र सफलतामार्फत व्यक्तिगत स्थान र हैसियत आर्जन गर्नुपर्ने नवनिर्माणाधीन समाजमा सबै मान्छे सफल हुनै सक्दैनन् । तर, नाटक साह्रै निम्नवर्गीय पात्र वरिपरि मात्रै झुम्मिन्छ । गरिखाने होडमा कुनै अवस्थामा निम्नवर्गीयले घुँडा टेक्छन्, पछारिन्छन् र उठ्छन् । र, धेरै निम्नवर्गीय उठ्नै सक्दैनन् । नाटकले देखाएको निम्नवर्गीय परिवार अत्यन्त गरिब, रोगी, बेसहारा, निरक्षर, ज्यादै सीमान्तकृत नेपालीको प्रतिविम्ब हो ।

प्रतिक्रिया