एटिएमको प्रोमो आपत्तिजनक


काठमाडौं, १७ जेठ । सुटिङदेखि नै विवादमा रहेको चलचित्र एटिएमले अनलाइनमार्फत अत्यन्त अश्लील र भद्दा प्रोमो सार्वजनिक गरेको छ । सि ग्रेडका हिन्दी फिल्ममा पाइनेभन्दा पनि तल्लोस्तरका दृश्य मात्रै होइन, समाजमा वर्जित अश्लील गाली नायिकाहरूले निर्धक्क बोलेका छन् उक्त प्रोमोमा ।
नायकले नायिकाको स्तन समातेका तथा नायिकाले नायकको यौनांग समातेसम्मका दृश्यलाई बोर्डले छुट दिएको छ कि छैन भन्ने थाहा पाउन चलचत्रको रिलिज नै पर्खिनुपर्छ । चलचित्रमा तीन नायिका जिया केसी, सविना कार्की र सोनिया शर्माले खुलेआम यौन पस्किएका मात्र छैनन्, अश्लील र छाडा संवाद पनि अत्यधिक बोलेका छन् । एटिएमले नेपाली चलचित्र उद्योगलाई नै विकृत तुल्याउने भन्दै यसको प्रदर्शनमा रोक लगाउन चलचित्रकर्मीले माग गरेका छन् ।
यसअघि मिस्टर डन र मस्ती बनाएका दिनेश थापा एटिएमका निर्माता र नायक दुवै हुन् । उनले तीन नायिकाहरूसित अनस्क्रिन रोमान्स गर्नकै लागि यस फिल्ममा लगानी गरेका त होइनन् भन्ने प्रश्नसमेत उठेको छ । छायांकनकै समयमा नायक दिनेशले नायिका जिया केसीको स्तन समातेको दृश्यको व्यापक चर्चा भएको थियो । एक चलचित्रकर्मी भन्छन्, ‘दुई चलचित्रको असफलतापछि नायिकाहरूसँग मोज गर्ने उद्देश्यले नै थापाले यो चलचित्र बनाएका हुन् भन्ने यो प्रोमोले स्पष्ट पारेको छ ।’ उनले चलचित्रका तीन नायिकाहरूको चरित्रप्रति पनि प्रश्न उठाए । ‘यस्ता दृश्य दिने रहर भए ब्लु फिल्म खेल्न गए हुन्थ्यो, किन नेपाली चलचित्रलाई विकृत पारिरहेका छन् यिनीहरू ?’ उनले भने ।
एटिएमका निर्देशक यादव सिलवाललाई कारबाही गर्नुपर्ने माग पनि उठिरहेको छ । उनीहरूमाथि नेपाली चलचित्रलाई अघि बढाउन नभएर यौन बेचेर चर्चा र पैसा कमाउन खोजेको आरोप लाग्न थालेको छ । यसैबीच, जियालाई नेपाली चलचित्र उद्योगमा भित्र्याउने निर्देशक दीपक श्रेष्ठले एटिएममा उनले देखाएको हर्कतपछि आफूले अभिनय गराएका कुनै पनि चलचित्रको प्रचारसामग्रीमा जियाको नाम तथा फोटो नराख्ने बताएका छन् । हालै सार्वजनिक गरेको चलचित्र वाचाको पोस्टरमा उनले जियाको फोटो समावेश गरेका छैनन् ।
यता, बढ्दो अश्लील दृश्य र छाडा संवादले नेपाली चलचित्रलाई विकृत बनाउँदै लगेको भन्दै नेपाली चलचित्रकर्मीको एक समूहले मंगलबार चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएको छ । सोमबारदेखि सार्वजनिक गरिएको चलचित्र एटिएमको प्रोमो हेर्नै अनि सुन्नै नसकिने गरी उच्छृंखल रहेको चर्चा चुलिइरहँदा टोलीले बोर्डको ध्यानाकर्षण गराएको हो । निर्देशक प्रसन्न पौडेलको नेतृत्वमा गएका चलचित्रकर्मीले अश्लीलताको हद नाघेको प्रोमो सार्वजनिक हुँदा पनि बोर्ड मौन बसेकोमा आपत्ति प्रकट गर्दै यसलाई रोक लगाउन माग गरे ।
यसरी खुलेआम चलचित्र उद्योगको बेइज्जती हुन दिन नहुने टोलीमा सहभागी निर्देशक सुरेश दर्पण पोखरेलले बताए । निर्माता संघका सचिवसमेत रहेका पोखरेलले भने, ‘यस्ता चलचित्रलाई पनि आँखा चिम्लने हो भने बोर्डले खुलेआम ब्लुु फिल्म बनाउन स्वीकृति दिए हुन्छ अब ।’ प्रचारबाजीका लागि प्रस्तुत गरिएको एटिएमको प्रोमोलाई नै प्रतिबन्ध लगाउन माग राखेको उनले जानकारी गराए । यस्ता चलचित्रको सेन्सरपछि पनि काटिएका दृश्य झुक्याएर फेरि राखिएका हुन सक्ने भएकाले बोर्डले हलहलमा गएर अनुगमनसमेत गर्नुपर्ने उनले बताए । बोर्ड अध्यक्ष गणेश भण्डारीले एटिएमबारे लगातार नराम्रो धारणा आइरहेकाले कारबाही तथा प्रदर्शन रोक्ने वचन दिएको पोखरेलले जानकारी गराए ।
लुटजस्तो छाडा संवाद भएको तथा चपली हाइटजस्तो यौनजन्य चलचित्र खुला प्रदर्शनमा आएको तथा सफलता पनि पाएको देखेर पछिल्लो समय यस्तै चलचित्र बनाउने होड नै चलेको देखिन्छ । यौन दृश्य र छाडा संवाद राखे फिल्म चल्छ भन्ने मनसाय निर्मातामा हाबी हुन थालेको छ । निर्माता संघका अध्यक्ष राजकुमार राई यस विषयलाई व्यापक बहसमा लगेर छिनोफानो गर्नुपर्ने बताउँछन् । निर्माताको लगानी भइसकेकाले दबाबका भरमा प्रतिबन्ध लगाउनुअघि उक्त चलचित्रले समाजमा खलल पुर्‍याउने दृश्य र संवाद राखेको हो/होइन भन्नेबारे छानबिन गर्नुपर्ने उनको धारणा छ । ‘एटिएमलाई सबैतिरबाट रोक्नुपर्ने आवाज त आइरहेको छ तर मैले चलचित्र नहेरेकाले यसै केही भन्न सक्दिनँ,’ उनले भने, ‘निर्माताको लगानी सुरक्षित गर्नु संघको पनि कर्तव्य भएकाले चलचित्र हेरेर मात्रै धारणा बनाउनेछु ।’

प्रतिक्रिया