संविधानसभा विघटनबारे कलाकर्मीको चिन्ता

लक्ष्मीनाथ शर्मा : हाम्रा नेताहरू बेइमानी र अकर्मण्य छन् भन्ने संविधानसभा विघटनले देखाएको छ । मुलुकको भविष्य अन्धकार मात्र देख्छु । कुनै पनि सरकारले कलासंस्कृतिका विषयमा संविधानमा केही लेखेका छैनन् । चार वर्षसम्म पनि संविधान बनाउन नसक्ने नेताहरूलाई स्वार्थी, अवसरवादी र अयोग्य भन्न चाहन्छु । कलासंस्कृतिका माध्यमबाट संविधान बनाउन घचघच्याउने हामी कलाकर्मी अब व्यंग्यात्मक पाराले होइन, सिधै प्रस्तुत हुनुपर्छ ।
रमेश बुढाथोकी : संविधानसभाको विघटनले हामी कलाकारलाई पनि खिन्न बनाएको छ । संविधान आउला र मुलुकले सुरक्षित अवतरण पाउला, पेसाव्यवसाय फस्टाउला, काम गर्ने वातावरण बन्ला भन्ने आशा थियो । अहिले त्यसमा तुषारापात भएको छ । नेताहरूको छवि धमिलिएको छ । सबै क्षेत्रको केन्द्रविन्दु भएकाले संविधानसभाको विघटनले कलासंस्कृति पनि प्रभावित हुने भइहाल्यो । अब यी नेताले जनतामाझ चुनावमा जाँदा चित्तबुझ्दो जवाफ दिन सक्नुपर्छ । अन्यथा उनीहरूले भयानक स्थितिको सामना गर्नुपर्ने हुन्छ ।
दीपकराज गिरी : संविधानसभा विघटन सरकारका कारण होइन, हामी जनताकै कारणले भएको हो । जनता नै विभाजित छौँ । कसैले जातीय राज्य, कसैले भौगोलिक राज्यको माग गरिरहँदा नेताहरू त्यसैमा फसेका हुन् । चार वर्षसम्म पनि संविधान बनाउन नसक्ने नेताहरूलाई दोष दिन चाहन्नँ । यति सुझाब दिन चाहन्छु, जातीय र भौगोलिक संघीयतामा जनता विभाजित रहेकाले यिनमा जनमत संग्रह गर्नैपर्छ । अन्यथा नेताहरू नालायक साबित हुनुहुनेछ ।
दयाहाङ राई : संविधानसभा विघटन हँुदा दु:ख लागेको छ । नेपाली जनताको आशा निराशामा परिणत भएको छ । मुलुकको भविष्य अन्धकारमा धकेलिएजस्तो लाग्छ । कलासंस्कृति फाँट पनि अन्योलमा छ । संविधानसभाले नै कलासंस्कृतिबारे संविधानमा नयाँ किसिमले व्यवस्था गर्ला भन्ने सोच थियो । विघटनले ती योजना सबै पेन्डिङ हुन पुगे ।
सुगरिका केसी : संविधानसभा विघटन हुनुमा हामी जनताको पनि मिस्टेक छ । हामिले यी नेतालाई छाडा छाड्यौं । जे गर्दा पनि हुन्छ भन्ने सम्झिए । अब मुलुकको भविष्य अन्योल देख्छु । अब मंसिर हुने भनिएको चुनावमा पनि सबै नेपालीले सहभागिता नजनाउलान् । अर्को पक्षबाट हेर्दा देशलाई झनै ठूलो आर्थिक भार पर्छ । संविधान नै नबनेपछि कलासंस्कृतिमा पनि असर परेको छ ।

प्रतिक्रिया