नयाँ सरकारका लागि राष्ट्रपतिसँग आग्रह

काठमाडौं, १६ जेठ । एमालेले राष्ट्रपतिलाई संवैधानिक व्यवस्थाअनुरुप राष्ट्रिय सहमतिको सरकार गठनका लागि अविलम्ब प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
पार्टी मुख्यालय बल्खुमा आज बसेको एमाले स्थायी समिति बैठकले संविधानसभाको निर्वाचनका लागि आवश्यक संवैधानिक, कानूनी र अन्य आवश्यक प्रबन्ध गर्न राष्ट्रिय सहमतिको संयुक्त सरकार अपरिहार्य रहेको जनाएको हो ।
‘संविधानसभाबाट संविधान निर्माण गर्ने सम्भावना रहँदारहँदै त्यसलाई असफल बनाउने कार्य एमाओवादी भयो,’ बैठक पछि जारी विज्ञप्तीमा भनिएको छ, ‘संविधान संशोधन गरी व्यवस्थापिका–संंसदलाई कायम राख्दै नयाँ जनादेशमा जान सकिने सम्भावना रहँदारहँदै एकलौटीरुपमा निर्वाचनको घोषणा गर्ने कुरा मुलुकलाई संवैधानिक संकटतर्फ उन्मुख गराउने र सर्वसत्तावाद लाद्ने कोशिस थियो भन्ने स्पष्ट छ ।’
संविधानसभा बिघटन गरी अर्को निर्वाचनमा जाँदा उत्पन्न हुनसक्ने राजनीतिक, संवैधानिक र कानूनी प्रश्नहरुमा विचारै नगरी प्रधानमन्त्रीका तर्फवाट चालिएको कदम असंवैधानिक र त्रुटिपूर्ण रहेको एमालेले दाबी गरेको छ ।
एमालेले संवैधानिक र कानूनी समाधानबिना संविधानसभाको निर्वाचन हुन नसक्ने उल्लेख गरेको छ ।
‘सर्वसत्तावादीढंगले अघि बढ्नखोज्ने भट्टराई नेतृत्वको सरकारले जनआन्दोलनको भावनाविपरित संविधानसभालाई असफल बनाउने र अन्तरिम संविधानको मर्मविपरित मुलुकलाई जनप्रतिनिधिबिहीन अवस्थामा पुराउने षडयन्त्रपूर्ण अपराध गरेको निष्कर्ष छ,’ विज्ञप्तीमा भनिएको छ, ‘उक्त अपराधपूर्ण क्रियाकलापका बिरुद्ध देशव्यापीरुपमा विरोध र भण्डाफोरको अभियान अघि बढाउन सम्पूर्ण लोकतन्त्रवादीमा आग्रह गर्दछौं ।’
एमालेले सम्पूर्ण लोकतन्त्रवादी र देशभक्त शक्तिहरुलाई ‘राष्ट्रिय लोकतान्त्रिक एकता मोर्चा’को माध्यमबाट एकताबद्धरुपमा अघि बढ्नसमेत आह्वान गरेको छ ।

प्रतिक्रिया