बृहत मधेसी मोर्चामा संकट

काठमाडौं, १६ जेठ । संविधानसभा विघटनसँगै बृहत मधेसी मोर्चामा संकट देखापरेको छ । मोर्चाका नेताहरुवीच आरोप प्रत्यारोप शुरु भएपछि सो अवस्था आएको हो ।
सरकारले नयाँ संविधानसभाका लागि निर्वाचनको घोषणा गरेपछि सत्तारुढ एमाओवादी सहितका केही दलमा आवद्ध मधेसवादी नेताहरुले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई मधेस विरोधीको आरोप लगाएका हुन् ।
मोर्चामा आबद्ध एमाओवादी, तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल र गणतान्त्रिक फोरमका नेताहरुले आज राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरेर मोर्चाका सदस्य यादव र भण्डारी संघीयता विरोधी कार्यमा संलग्न रहेको आरोप लगाए ।
सरकारले घोषणा गरेको निर्वाचनको निर्णय विरुद्ध कांग्रेस, एमाले लगायतका दलहरुसँग मिलेर राष्ट्रपतिलाई भेटगरी मोर्चाको आचार संहिता विपरित अभिव्यक्तिको भन्दै उनीहले मधेस र मधेसीप्रति व्यापार गरेको आरोप लगाएका छन् ।
जेठ–१४ पछि मुलुकको बदलिदो परिस्थितिबारे मोर्चाको पूर्ण बैठक बस्न अनुरोध गर्दा समेत बैठक नबोलाएको भन्दै उनीहरुले यादव र भण्डारीलाई द्वैध चरित्र देखाएको आरोप लगाए ।
‘मोर्चाको स्थापित मूल्य र मान्यता विपरित संघीयता र मधेसविरोधी तत्वहरुसँग साँठगाँठ गरी मधेस र मधेसीको नाममा व्यापार गर्नेहरुसँग सजग रहन आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘जेठ–१४ गते मध्यराति राष्ट्रपतिलाई भेटगरेर कांग्रेस, एमाले, राजपालगायत अन्य दलहरुसँग मिलेर बृहत मधेसी मोर्चाको नाममा संयुक्त वक्तव्य बुझाएको सम्बन्धमा गम्भीर बनाएको छ ।’
संयुक्त पत्रकार सम्मेलन गर्नेमा एमाओवादीका नेता प्रभु साह, रामरिझन यादव, रामकुमार शर्मा, भरत साह, तमलोपा नेपालका प्रवक्ता राम अशिस गुप्ता, फोरम गणतान्त्रिकका आत्मा राम प्रसाद साह रहेका छन् ।

 

प्रेस विज्ञप्ति
पत्रकार बन्धुहरु,
जेठ १४ पछि मुलुकको बदलिदो परिस्थितिबारे मोर्चाको पूर्ण बैठक बस्नका लागि मोर्चाका जिम्मेवार सदस्यहरुलाई बारम्बार अनुरोध गर्दा पनि बस्न नमानेकोले हामी गम्भीर भएका छौं । मोर्चाको स्थापित मूल्य र मान्यता विपरीत संघीयता र मधेशविरोधी तत्वहरुसँग साँठगाँठ गरी मधेश र मधेशीको नाममा व्यापार गर्नेहरुसँग सजग रहन यो पत्रकार सम्मेलन गराइएको हो । अस्ति १४ गते मध्यराति सम्मानीय राष्ट्रपतिलाई नेपाली कांग्रेस, एमाले र राजपालगायत अन्य दलहरुसँग मिलेर बृहत् मधेशी मोर्चाको नाममा संयुक्त वक्तव्य बुझाएको सम्बन्धमा विभिन्न राष्ट्रिय समाचार माध्यमहरुद्वारा प्रकाशित÷प्रसारित समाचारले हामीलाई झन् गम्भीर बनाएको छ । नेपाली कांग्रेस, एमाले र राजपालगायत अन्य  संघीयता र मधेशविरोधी दलहरुसँगको सहकार्य मोर्चाको स्थापित विचार र सिद्धान्त विपरीत हो भन्ने हाम्रो ठहर छ । यी कुराहरु बुझ्दा बुझ्दै मोर्चाका सदस्यको रुपमा रहेका मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा मजफो लोकतान्त्रिकका वरिष्ठ नेता शरत्सिंह भण्डारीले बृहत् मधेशी मोर्चाको सहमति बिनाजसरी र जुन रुपमा अस्ति १४ गते राति सम्माननीय राष्ट्रपति कहाँ पुग्नु भयो त्यसले तिनीहरुको द्वैध चरित्रलार्ई उजागर गरेको छ । तसर्थ यसप्रकारका भ्रमबाट सतर्क रहन आम जनसमुदायलाई आह्वान गर्दछौं । साथै मधेशी, जनजाति, मुस्लिम, दलित लगायत उत्पीडित जातजाति, वर्ग, क्षेत्र, लिङ्ग तथा समुदायको हितमा संघीयता एवम् पहिचानसहितको संविधान बनाउनका लागि आगामी मंसिर ७ गते हुने संविधानसभा चुनावमा सच्चा संघीयता पक्षधर शक्तिहरुलाई एकजुट हुन समेत अपील गर्दछौं ।
१. प्रभु साह – एनेकपा (माओवादी)
२. रामरिझन यादव – एनेकपा (माओवादी)
३. रामकुमार शर्मा – एनेकपा (माओवादी)
४. भरत साह – एनेकपा (माओवादी)
५. राम अशिस गुप्ता, केन्द्रीय प्रवक्ता — तमलोपा (नेपाल)
६ आत्मा राम प्रसाद साह— मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

प्रतिक्रिया