सहकारी विभागको काम सुचारु

काठमाडौं, १६ जेठ । विगत डेढ महिनादेखि ठप्प रहेको सहकारी विभागको काम सुचारु भएको छ । तत्कालीन रजिस्ट्रार सुर्दशनप्रसाद ढकाल सरुवा भएदेखि रोकिएको काम नयाँ रजिस्ट्रार केदार न्यौपानेलाई जिम्मेवारी दिएपछि सुचारु भएको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव न्यौपानेलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
सरकारले गत ३ वैशाखमा सहकारी विभागका तत्कालीन रजिस्ट्रार ढकाललाई सरुवा गरेपछि सो पद डेढ महिनादेखि रजिस्ट्रार विहीन रहेको थियो । यसअघि विभागमा तत्कालीन कृषि तथा सहकारी मन्त्रालयले सहसचिव गेयनाथ भण्डारी नियुक्त गर्ने तयारी गरे पनि छुट्टै सहकारी मन्त्रालय गठन भएपछि प्रक्रिया रोकिएको थियो । डेढ महिनादेखि विभागमा रजिस्ट्रार रहँदा देशभर नयाँ संस्थाका काम ठप्प थिए ।
त्यस्तै सहकारी संघ/संस्थालाई दिइने अनुदानको रकमसमेत वितरण हुन सकेका छैन । विभागमा चालु आथिर्क वर्ष ०६८/६९ को बजेटमा सरकारले उत्पादनमूलक सहकारीलाई उपलब्ध गराउने भनेको अनुदान एवं भन्सार छुट सुविधा लिन सहकारी विभागमा तीन सय ७० वटा आवेदन परेका छन् । आवेदन परेमध्येबाट एक सय २४ वटाले सहकारी संघ/संस्थालाई अनुदान दिने तयारीमा विभाग लागेको उपसचिव विष्णुप्रसाद घिमिरेले बताए ।
त्यस्तै केही समयअघि उपरजिस्ट्रारमा उपेन्द्र ढुंगाना नियुक्त भएका थिए । तत्कालीन रजिस्ट्रार गोपीकृष्ण निरौला पनि सरुवा भएपछि ढुंगानालाई मन्त्रालयले नियुक्त गरेको थियो ।

प्रतिक्रिया