निर्देशकविना चलचित्र छायांकन

काठमाडौं, १६ जेठ । अन्य पक्षभन्दा निर्देशकको भूमिका सबैभन्दा महत्त्वपूर्ण मानिन्छ चलचित्रमा । निर्देशकविनाको चलचित्रको परिकल्पना कमैले गर्लान् । प्रश्न उठ्छ– के विनानिर्देशक चलचित्र पूरा गर्न सकिएला ? छायांकनको समाप्तितिर लम्किएको चलचित्र गहिराइको निर्माणसमूहको उत्तर भने यस्तो छ, ‘विनानिर्देशक पनि सकिँदो रहेछ ।’

निर्देशकविना नै ८० प्रतिशत छायांकन सकिएको यसका निर्माता सुनील श्रेष्ठले बताए । उनका अनुसार छायांकनमा जाने अन्तिम समयमा आएर निर्देशकले हात झिकिदिएपछि त्यत्तिकै छायांकन सुरु गर्नुपरेको हो । ‘आर्टिस्ट छनोट गर्नेदेखि छायांकनअघिका सम्पूर्ण काममा निर्देशक साथमै थिए तर जब छायांकनमा जाने बेला आयो, उनले एकाएक असहमति देखाए,’ निर्देशकको नाम भने उल्लेख गर्न नचाहेका सुनीलले थपे, ‘छायांकनको सम्पूर्ण तयारी सकिइसकेकाले काम त सुरु गर्नुपथ्र्यो, सुरु गरी नै सकेपछि एक–दुई दिनमा सहमतिमा आउलान् कि भन्ने थियो तैपनि हामीलाई उनले अलपत्र नै पारे । ती निर्देशकले पारिश्रमिकबापतको ५३ प्रतिशत रकम लगिसके पनि अन्तिम समयसम्मै नफर्किएको उनले सुनाए । निर्देशकले हात झिकिदिएपछि सहायक निर्देशक सुमन चापागाईंले गहिराइको निर्देशन सम्हालिरहेका रहेछन् । ‘सुमनले चलचित्रमा निर्देशक अभाव हुनुको कमीकमजोरी हुन दिएका छैनन्, मैले त उनैलाई फुल निर्देशकको हैसियतमा काम गर्न अफर गरेको छु तर मानेनन्,’ सुनीलले भने ।
स्पटमा गइसकेपछि मात्रै आफूलाई निर्देशक आउँदैनन् भन्ने थाहा भएको र उनको अनुपस्थितिमा आपैँmले छायांकन सुरु गरेको सहायक निर्देशक सुमनले बताए । काम पूरै गरिदिएर पनि मुख्य निर्देशक परिचय लिन उनले किन अस्वीकार गरिदिए त ? भन्छन्, ‘किनकि, यसपछिको तीन चलचित्रमा सहायक निर्देशकका रूपमा एग्रिमेन्ट गरिसकेको छु । अहिले मुख्य निर्देशक भएर फेरि ती चलचित्रमा सहायकका रूपमा फर्किन मिल्दैन ।’ त्यसो त सहायक हुँदाजति काम मुख्य निर्देशक हुँदा नपाइने उनले देखेका रहेछन् । मुकेश ढकालले यसमा नायकका रूपमा अभिनय गरेका छन् । उनले पनि निर्देशक थाहा नभईकनै काम गर्न सम्झौता गरेका रहेछन् । भने–, ‘मैले अन्य कुरा केही हेरिनँ, स्क्रिप्ट हेरेको भरमा काम गर्न थालेको हुँ, त्यसो त अहिलेसम्म गाना र फाइटको काम सकेको छु, त्यसमा मुख्य निर्देशकको आवश्यकता पर्दैन, अब सिन गर्दाचाहिँ खोजी गर्नुपर्ला ।’
निर्माण पक्षले निर्देशकको नाम भन्न नचाहे पनि एक प्राविधिकले चाहिँ ती निर्देशक पदम शर्मा रहेको जानकारी दिए । आफ्नो नाम गोप्य राख्ने सर्तमा उनले भने, ‘निर्मातासँग आर्थिक कारोबार र स्कृप्टका विषयमा किचलो परेपछि शर्माले समय नदिएका हुन् ।’ गहिराइमा मुकेश ढकाल, रागिनी खड्गी, सुनील थापा, रमेश शाही, जेसिका खड्का, सपना केसी, विनोद श्रेष्ठ आदि कलाकार मुख्य भूमिकामा छन् । जातीय एकताको विषयलाई लिएर निर्माण भएको चलचित्रमा राजेन्द्र खड्गीको द्वन्द्वनिर्देशन तथा राकेश शाहीको नृत्यनिर्देशन छ भने छायांकन श्याम रायमाझीले गरेका छन् ।

प्रतिक्रिया