गाडीमा आगजनी गर्ने दुई पक्राउ

चितवन, १५ जेठ । चितवनको बछौली–२, सौराहामा रहेको होटल वाईल्ड लाईफ क्याम्पको गाडीमा आगजनी भएको छ ।
ना १ च ९८०९ नम्बरको मिनी बसमा गएराति करिब १०/१२ जनाको समुहले पेट्रोल छर्केर आगजनी गरेको होटलका कर्मचारीले जानकारी दिएका छन् ।
होटलका गार्ड दिलिप श्रेष्ठलाई नियन्त्रणमा लिएर उनीहरुले गाडीमा आगजनी गरेका हुन् । आगजनीबाट बस पूर्ण रुपमा क्षती पुगेको छ ।
होटलको गाडीमा आगजनी हुँदा होटलसंगै रहेको किष्ट बैंकका दुई वटा एसी, वाईरिङ तार र एउटा चाईनिज साईकलमा पनि क्षति पुगेको छ ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिईएको चितवन प्रहरीले जनाएको छ ।
आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम चितवनको शारदानगर–२ बस्ने २७ वर्षका सुभाष बास्तकोटी, भरतपुर–१ बस्ने ४६ वर्षीय रामहरी भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ना ४ प ४६०० नम्बरको मोटरसाईकल, मोटरसाइकलको बिल बुक, एउटा मोबाईल, पेट्रोल बम ७ वटा बरामद गरेको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जाएको छ ।
उनीहरु होटल नै जलाउने तयारीका साथ आएपनि होटलका कर्मचारीले होटल जलाउन नदिएको होटल सञ्चालक शंकर सैजुले जानकारी दिए । सैजु क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष हुन् ।
यसअघि पनि सौराहामा एकीकृत माओवादी निकटको मजदुर संगठनको एक समुहले आन्दोलन चर्काएर सैंजुको गाडीमा भरतपुरमा तोडफोड गरेका थिए ।

प्रतिक्रिया