सुत्केरी नायिकाहरु भन्छन्, फिल्ममा फर्कन्छौं


काठमाडौं, १५ जेठ । केही समयअघिसम्म रंगीन पर्दामा बोलवाला रहेका केही नायिका एकाएक हराएजस्ता भएका छन् । मानौँ, उनीहरूले सन्न्यासै लिइसकेका हुन् कि † यी नायिकाको अनुपस्थितिपछि चलेका रेखा र झरना थापाबाहेकका चलचित्रमा नयाँ अनुहारले अवसर पाए । नयाँहरू स्थापित भइसके, पुराना अझै फर्किएका छैनन् । आइतबार साँझ उनीहरूले एकै स्वरमा भने, ‘हामीले सन्न्यास लिएका होइनौँ, केही समयलाई ‘ग्याप’ राखेका मात्र हौँ ।’ ‘ग्याप’ राखेको भन्नुको मतलब उनीहरूले सन्तान जन्माएपछि चलचित्रलाई समय दिन नपाएको उल्लेख गरेका हुन् ।
नायक निखिल उप्रेतीसँग बिहे गरेर गर्भवती बनेकी नायिका सञ्चिता लुइँटेल यतिखेर आफ्नो नौमहिने छोराको स्याहारसुसारमा व्यस्त छिन् । बच्चा सानै रहेकाले तुरुन्तै चलचित्रमा फर्कने सम्भावना नरहेको उनले सुनाइन् । बच्चा कति वर्ष पुगेपछि फर्कने योजना छ त ? ‘त्यस्तो निश्चित योजना त बनाएको छैन तर केही वर्ष जस्तो अफर आए पनि चलचित्रमा फर्कन्नँ,’ उनले भनिन् । आफ्नै कारणले लामो ग्यापमा चलचित्रमा फर्किएपछि बलिउड र हलिउडका नायिकाहरूलाई पनि फेरि पुरानै लय र क्रेज समात्न हम्मेहम्मे परेको देखिन्छ । उमेर घर्किसकेपछि पुनरागमन गर्दा चरित्र अभिनेत्री वा अन्य भूमिकामा सीमित हुन परेका उदाहरण पनि छन् । आमा बनेको लामो समयपछि चलचित्रमा फर्कने सुरसार गरिरहेकी बलिउड नायिका ऐश्वर्या राय पनि यतिखेर शारीरिक फिटनेस सुधार्नुपर्ने झन्झटमा छिन् । सञ्चिता भन्छिन्, ‘मलाई विश्वास छ, म अहिले पनि राम्ररी अभिनय गर्न सक्छु र पछि पनि ।’ तर, अहिलेलाई पेसाभन्दा सन्तान महत्त्वपूर्ण मानेकी लुइँटेल बच्चा ठूलो नभई नपर्कने मनस्थितिमा छिन् । भन्छिन्, ‘सन्तान त जीवनको अपरिहार्य आवश्यकता हो ।’
आमा बनेकै कारण चलचित्रमा लामो ग्याप बनाएकी अर्की नायिका मेलिना मानन्धरकी छोरी १९ महिनाकी पुगिन् । यही दिनबाट चलचित्रमा फर्कन्छु भन्ने योजना नबनाए पनि अब समयअनुकूल चलचित्रबाट अफर आए अभिनय गर्ने सोचमा उनी रहिछन् । भनिन्, ‘आफूलाई कम्फरटेबल हुने समय उपलब्ध गराए अबचाहिँ फर्कनुपर्ला जस्तो छ तर बच्चालाई समय नदिईकन चलचित्रलाई मात्र प्राथमिकता दिनचाहिँ सक्दिनँ ।’ उनका अनुसार चलचित्रमा फर्किए पनि उनी केही समय पहिले जसरी नै सक्रिय भने हुने छैनन् । भन्छिन्, ‘अहिलेलाई कामभन्दा सन्तान ठूलो हो, उसले आमाको आवश्यकता महसुस गरुन्जेल एक्लै छाड्न सक्दिनँ ।’
नायिका अरुणिमा लम्सालकी छोरी ६ महिना पुगिन् । लम्सालले पनि यति नै समयपछि चलचित्रमा फर्कन्छु भनेर निश्चित योजना बनाएकी रहिनछन् । भन्छिन्, ‘अहिले नानु सानै छ, कम्तीमा पनि काखमा राख्नुपर्ने अवस्थासम्म त छोड्नै मिल्दैन ।’ यति बेला चलचित्रहरूबाट अफर पनि नआएको बताउँदै उनले थपिन्, ‘केही समयपछि मात्रै फर्कन्छु होला ।’
अफर आए पनि स्क्रिप्ट र लेनदेनका विषयमा चित्त बुझे मात्र चलचित्रमा अभिनय गर्ने
उनले सुनाइन्, भलै लामै ग्याप किन नहोस् । भनिन्,
‘म नयाँ कलाकार होइन, केही समय ग्याप भएको मात्र न हो ।’

प्रतिक्रिया