आठ सन्तानको चाहना

लस एन्जलस : सामान्यत: सेलिब्रिटीहरू ‘फिगर’ बिग्रने डरले सकेसम्म कम बच्चा जन्माउन चाहन्छन् । हलिउड अभिनेत्री अन्ना फेरिसको इच्छा भने यसको अपवादमा छ । उनले आफूलाई आठ बच्चाकी आमा बन्न मन लागेको एजेन्सीलाई बताइन् । हाल गर्भवती अवस्थामा रहेकी उनी पहिलो बच्चा जन्माउने तर्खरमा छिन् । सन् २००९ मा अभिनेता क्रिस प्रेटसँग विवाहबन्धनमा बाँधिएकी उनी बिहेको दुई वर्षपछि आमा बन्न लागेकी हुन् ।
आमा बन्न पाउने सौभाग्यले निकै उत्साही देखिएकी उनले यसबाहेक अन्य सात बच्चाकी आमा बन्ने सोच एजेन्सीसमक्ष प्रस्तुत गरेकी हुन् । उनले भनिन्, ‘अबका वर्षमा म निरन्तर ‘आमा’ बनिरहनेछु किनकि आफ्नो दुनियाँलाई ‘आवाद’ बनाउने मेरो चाहना हो ।’
आफूले इच्छा गरेजति बच्चालाई सम्हाल्न आफू सक्षम रहेको र त्यसमा कुनै झन्झटिलो अनुभूति नगर्ने पनि उनले एजेन्सीसँग बताइन् । ३५ वर्षीया फेरिसको सन्तानोत्पादनसम्बन्धी यो योजनासँग उनका पतिचाहिँ सहमत छन्/छैनन्, त्योचाहिँ एजेन्सीले उल्लेख गरेको छैन । (एजेन्सी)

प्रतिक्रिया