दूधकोसी आयोजना बनाउन कोरियालाई प्रस्ताव


काठमाडौं, १५ जेठ । नेपाल विद्युत् प्राधिकरणले दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कोरिया सरकारलाई प्रस्ताव पठाएको छ ।
तीन सय मेगावाटको सो जलविद्युत् आयोजना निर्माणका लागि कोरिया सरकारले इच्छा देखाएपछि प्राधिकरणले प्रस्तावसहितको पत्र पठाएको हो । ‘कोरियाको एक्जिम बैंकले दूधकोसी आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र आयोजना अघि बढाउनका लागि हामीले प्रस्ताव पठाएका छाँै,’ विद्युत प्राधिकरण उत्पादन निर्माण विभागमा महाप्रबन्धक रामचन्द्र पाण्डेले भने । प्राधिकरणका अनुसार गत २२ अप्रिलमा कोरियाली प्रतिनिधि काठमाडांै आएको बेला छलफलमा प्राधिकरणले सबै आयोजनाको डिपिआर तयार गर्नका लागि बास्केट फन्डका रूपमा आर्थिक सहयोग गर्न अनुरोध गरेको थियो । कोरिया फर्केको टोलीले त्यहाँ पुगेर तत्कालका लागि दूधकोसीको डिपिआरका लागि सहयोग गर्न भन्दै पत्र लेखेर प्रस्ताव मागेको थियो । उक्त प्रस्ताव मागेपछि प्राधिकरणले आवश्यक सबै कागजपत्र पठाइसकेको छ । ‘प्रस्तावबारे कोरियाको एक्जिम बैंकले अध्ययन गरिरहेको छ, प्रस्ताव नै मागिसकेकाले आयोजनामा कोरियाको एक्जिम बंैकले हात हाल्न खोजेको देखिन्छ,’ महाप्रबन्धक पाण्डेले भने । डिपिआर तयार गर्नका लागि मात्र करिब १० मिलियन डलर लाग्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ । डिपिआर तयार भएपछि आयोजना निर्माण अघि बढ्नेछ ।
सम्भाव्यता अध्ययन भएको १४ वर्ष पुगिसकेकाले प्राधिकरणले थप अपडेटका लागि अध्ययनसमेत गरिरहेको छ । अध्ययनका लागि एक करोड बजेट छुट्याइएको छ । गत साउनदेखि सुरु भएको अध्ययन दुई वर्षभित्र सिध्याउने लक्ष्य राखिएको छ । सम्भाव्यता अध्ययन गरे पनि प्राधिकरणले उक्त आयोजनाको अनुमतिपत्र पाएको छैन । अनुमतिपत्र नपाउँदा थप अध्ययनका लागि समेत आयोजनालाई समस्या परेको छ । ‘कोरियाको एक्जिम बैंक आयोजनाका लागि अगाडि बढाउनका लागि इच्छुक देखिएर प्रकृया अघि बढेको छ तर प्राधिकरणले अनुमतिपत्रसमेत पाएको छैन,’ प्राधिकरणका एक कर्मचारीले थपे, ‘आयोजनाको अनुमतिपत्र दिन नै विद्युत् विकास विभाग र ऊर्जा मन्त्रालयले किन ढिला गरेको बुझेका छैनौँ ।’ उनका अनुसार अनुमतिपत्र नदिँदा समेत विद्युत् उत्पादनका लागि अगाडि बढ्न प्राधिकरणलाई समस्या पर्दै आएको छ ।
१९९८ सालमै सम्भाव्यता अध्ययन सकिएको आयोजनाको डिपिआर गर्नका लागि कोरियाले चासो देखाएको हो । ओखलढुंगा र खोटाङ जिल्लाको बीचमा पर्ने दूधकोसी सप्तकोसीको सहायक नदी हो । सम्भाव्यता अध्ययनका क्रममा आयोजनाका लागि ६९० मिलियन डलर खर्च लाग्ने देखिएको छ । सम्भाव्यता अध्ययनले प्रतिकिलोवाट २३ सय डलर पर्ने देखाएको छ ।

प्रतिक्रिया