साढे २४ अर्ब बजेट बचतमा

काठमाडौं, १५ जेठ । चालु आर्थिक वर्षको नौ महिनामा सरकारले राजस्व परिचालनका तुलनामा पुँजीगत खर्च न्यून मात्र गर्न सकेका कारण २४ अर्ब ६० करोड रुपियाँले बजेट बचतमा रहेको छ । गत आवको सोही अवधिमा सरकारी बजेट ६ अर्ब ४७ करोड रुपियाँ
बचतमा थियो ।
नगद प्रवाहमा आधारित कुल सरकारी खर्च समीक्षा अवधिमा १९ दशमलव एक प्रतिशतले वृद्धि भई एक खर्ब ८७ अर्ब २९ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सरकारी खर्च १२ दशमलव दुई प्रतिशतले वृद्धि भएर एक खर्ब ५७ अर्ब २५ करोड रुपियाँ मात्र थियो । अघिल्लो वर्षको वार्षिक बजेट आर्थिक वर्ष सुरू भएको पाँचाँै महिनामा मात्र सार्वजनिक भई कार्यान्वयनमा आएकामा चालू आवमा समयमै बजेट सार्वजनिक भई कार्यान्वयनमा आएकाले कुल सरकारी खर्चको वृद्धिदर उच्च रहन गएको हो ।
तर सरकारी खर्चमध्ये चालु खर्चतर्फ सरकारले अपेक्षा गरेअनुसारको रकम खर्च भएको छ । पुँजीगततर्फ भने न्यून रकम मात्र खर्च भएको एवं सो अवधिमा राजस्वको वृद्धिदर भने करिब १८ प्रतिशतको हाराहारीमा रहेकाले सरकारी बजेट बचतमा रहेको हो । समीक्षा अवधिमा नगद प्रवाहमा आधारित चालु खर्चतर्फ एक खर्ब ४७ अर्ब ७७ करोड रुपियाँ खर्च भएको छ भने पुँजीगत खर्चतर्फ १८ अर्ब ७९ करोड रुपियाँ मात्र खर्च भएको छ । त्यसैगरी ऋण भुक्तानीअन्तर्गत चालु आवको पहिलो नौ महिनामा सरकारले १५ अर्ब ८९ करोड रुपियाँ खर्च गरेको छ ।
चालु आवको नौ महिनामा सरकारले विनियोजन गरेको बजेटभन्दा १६ अर्ब ७४ करोड ८३ लाख रुपियाँ रकम खर्च गर्न सकेको छैन । नौ महिनासम्ममा एक खर्ब ९९ अर्ब २१ करोड ३५ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । सरकारले चालु आवको चैत मसान्तसम्म १८ दशमलव एक प्रतिशतले राजस्व परिचालन वृद्धि गरी एक खर्ब ७२ अर्ब नौ करोड रुपियाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष चैत मसान्तसम्ममा १५ दशमलव एक प्रतिशतले मात्र राजस्व वृद्धि गरी एक खर्ब ४५ अर्ब ६६ करोड रुपियाँ राजस्व संकलन गरेको थियो । चालु आवमा पहिलोपटक समयमा नै बजेट कार्यान्वयनमा आएर आर्थिक क्रियाकलापमा विस्तार भएको एवं कुल आयातमा समेत वृद्धि भएकाले राजस्वको वृद्धिदर बढेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसैगरी चालु आर्थिक वर्षमा सञ्चालन गरेको कर कार्यान्वयन वर्षका कारण पनि राजस्व वृद्धिमा
सहयोग पुगेको मन्त्रालयका
तीअधिकारीले बताए ।
समीक्षा अवधिमा मूल्य अभिवृद्धिकर राजस्व १५ दशमलव एक प्रतिशतले वृद्धि भई ५२ अर्ब ४३ करोड रुपियाँ, भन्सारबाट १३ दशमलव चार प्रतिशतले वृद्धि भएर २९ अर्ब ९८ करोड रुपियाँ, अन्त:शुल्कबाट ११ दशमलव सात प्रतिशतले बढेर २१ अर्ब ७३ करोड रुपियाँ, आयकरबाट २३ दशमलव तीन प्रतिशतले बढेर ३६ अर्ब ८१ करोड रुपियाँ र गैरकर राजस्वबाट २५ अर्ब २५ करोड रुपियाँ राजस्व संकलन भएका थियो ।

प्रतिक्रिया