२५ वर्षपछि भारतीय प्रधानमन्त्री म्यानमारमा

यंगोन, १५ जेठ । भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले आइतबारबाट तीनदिने म्यानमार भ्रमण सुरु गरेका छन् । भ्रमणका क्रममा उनले त्यहाँका राष्ट्रपति थान सेन, प्रतिपक्षी दलकी नेत्री आङ सान सुकीलगायतसँग भेट गर्नेछन् । भारतीय प्रधानमन्त्री २५ वर्षपछि म्यानमार भ्रमणमा निस्किएको घटनालाई महत्त्वका साथ हेरिएको छ ।
म्यानमारमा प्रजातन्त्रका लागि संघर्षरत सुकीलाई भारतले समर्थन गर्दै आएको थियो । यसकारण म्यानमारको सैन्य सरकारसँग भारतको सम्बन्ध चिसिन पुगेको थियो । पश्चिमी राष्ट्रसँग मिलेर भारतले म्यानमारको प्रजातान्त्रिक शक्तिलाई साथ दिएपछि म्यानमारको सैन्य शासकले भारतसँगको सम्बन्धलाई सिमित गर्दै चीनसँग दरिलो सम्बन्ध विकास गरेको  थियो ।
मुलुकमा प्रजातान्त्रिक अभ्यास क्रमश: लागु गर्न म्यानमार सरकार सहमत भएपछि पश्चिमी राष्ट्र र भारतसँग म्यानमारको सम्बन्ध पुन: सुमधुर हुने अपेक्षा गरिएको थियो । यस्तो अपेक्षालाई सही साबित गर्दै अमेरिका र बेलायतका विदेशमन्त्रीले वर्षौंपछि म्यानमार भ्रमण गरिसकेका छन् । त्यसको केही महिनापछि भारतीय प्रधानमन्त्री सिंह म्यानमार भ्रमणमा निस्किएका हुन् ।
सन् १९९० मा भएको आमनिर्वाचनमा सुकीको दलले दुई तिहाइ मत प्राप्त गरेपछि त्यहाँको सेनाले सत्ता हत्याएको थियो । केही महिनायता म्यानमार सरकारले राजनीतिक सुधारका एजेन्डा अघि सार्ने र प्रजातान्त्रिक अभ्यास गर्ने छाँटकाँट देखाएको छ । हालै भएको उपसंसदीय निर्वाचनमा सुकीको दल सहभागी भएपछि म्यानमार संसद्मा प्रजातन्त्रका पक्षधरहरूको पहुँच स्थापित भइसकेको छ ।
निर्वाचनपछि अन्तर्राष्ट्रिय समुदायले म्यानमारमाथिका कतिपय प्रतिबन्ध एवं नाकाबन्दी फुकुवा गरेका छन् । भारतीय प्रधानमन्त्रीले म्यानमार भ्रमण थालेपछि म्यानमारमा जारी राजनीतिक सुधारका कार्यले क्षेत्रीय अनुमोदन हासिल गरेको विश्लेषण गरिएको छ । (एजेन्सी)

प्राथमिकतामा ऊर्जा
भारतीय प्रधानमन्त्री मनमोहन सिंहको भ्रमण म्यानमारको ऊर्जा स्रोतबाट भारतलाई लाभान्वित गराउनेतर्फ लक्षित रहने समाचार एजेन्सी एपीले जनाएको छ । म्यानमारमा चीनको सशक्त उपस्थितिलाई कम गर्नु पनि भ्रमणको अर्को उद्देश्य रहेको एपीको समाचार विश्लेषणमा जनाइएको छ ।
‘आर्थिक उन्नतिसँगै ऊर्जाको माग बढिरहेका बेला भएको सिंहको भ्रमण म्यानमारको ऊर्जाबाट भारतलाई लाभान्वित गराउनेतर्फ लक्षित छ । साथै, म्यानमारमा चीनको प्रभाव सिंहको भ्रमणको अर्को प्राथमिकताको विषय हो,’ समाचार विश्लेषणमा भनिएको छ । म्यानमारको ग्यास तथा तेल उत्खनन परियोजनामा चीनको ढलीमलीले हालैका दिनमा भारतलाई चिन्तित बनाएको समाचारमा जनाइएको छ । म्यानमारको ग्यास, तेल र पूर्वाधार निर्माण परियोजनामा हजारौँ चिनियाँ मजदुर कार्यरत रहेको बताइन्छ ।
अहिले म्यानमारले केही ग्यास ब्लक लिलामीमा राख्ने तयारी गरिरहेको छ । ऊर्जाका स्रोतमाथिको पहुँच सुनिश्चित गर्न यसले भारत र चीनबीचको प्रतिस्पर्धालाई व्यापक बनाउने सम्भावना बढेको समाचारमा जनाइएको छ । लिलामी प्रक्रियामा भारतले सशक्त रूपमा उत्रिने तयारी गरिरहेको अनुनमान गरिएको छ । म्यानमार प्रचुर मात्रामा ग्यास भण्डार रहेको मुलुक हो ।

प्रतिक्रिया