एमाओवादीका मजदुर नेताको हत्या

वीरगन्ज, १४ जेठ । पर्साको लालपर्सामा एमाओवादी निकट एक मजदुर नेताको शव फेला परेको छ ।
बाराको नितनपुरस्थित कृष्ण पोलिमर प्रालिमा कार्यरत वीरगञ्ज माइस्थानका २७ वर्षीय राजु साहको शव फेला परेको हो । साह एमाओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर संघका इकाइ अध्यक्ष हुन् ।
प्रहरीले भने मृत्यु भएका युवकको सनाखत हुन नसकेको बताएको छ । फेला परेको शव साहकै रहेको अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य अर्जुन चिमोरियाले बताए ।
ड्राइपोर्ट परवानीपुर जोडने सडकखण्ड अन्तर्गत लालपर्सास्थित सडक छेउमा आज बिहान हत्या गरेर फयाकिएको अवस्थामा साहको शव फेला परेको हो ।
मृत्यु भएका युवकको टाँउकोमा धारिलो हतियारले प्रहार गरेको घाउ रहेको छ ।
यता, मकवानपुरको डाँडाखर्क गाविसमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । आफ्नै घरमा सतिरहेको अवस्थामा आज बिहान परेको चट्याङ लागेर १८ वर्षीया पार्वती घलानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सौर्य

प्रतिक्रिया