मुलायमद्वारा बन्द घोषणा

लखनउ : उत्तर प्रदेशको सत्तारुढ समाजवादी पार्टीका प्रमुख मुलायमसिंह यादवले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको विरोधमा उत्तर प्रदेश बन्द गर्ने घोषणा गरेका छन् । संयुक्त प्रगतिशील गठबन्धन (युपिए) नेतृत्वको केन्द्र सरकारले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । हालै उत्तर प्रदेशमा भएको विधानसभा निर्वाचनमा समाजवादी पार्टीले विजय हासिल गरेपछि पार्टीका वरिष्ठ नेता अखिलेश यादव त्यहाँका मुख्यमन्त्री बनेका छन् । उनी मुलायमसिंहका छोरा हुन् ।
युपिएका प्रतिनिधिसँगको छलफलबाट सन्तुष्ट नभएपछि मुलायमसिंहले ३१ मेमा उत्तर प्रदेश बन्द गर्ने घोषणा गरेका हुन् । बन्दका बेला राज्यभरि प्रदर्शन गर्न उनले पार्टी निकायलाई निर्देशन दिसकेका छन् ।
मूल्यवृद्धिलाई पार्टीले गम्भीर रूपमा लिएको बताउँदै उनले यसको जबर्जस्ती विरोध गरिने बताए । ‘समाजवादी पार्टी मजदुर र जनताको हो । पार्टीका आधार अर्थात् मजदुर र जनताको आकांक्षाप्रति सदैव सचेत रहने मैले मन्त्रीहरूलाई सचेत गराइसकेको छु,’ उनले भने । (एजेन्सी)

प्रतिक्रिया