केटी नयाँ रूपमा आउँदै

लन्डन :  यसै पनि सुन्दर छिन् हलिउड गायिका केटी पेरी । त्यसमाथि उनले गर्ने विभिन्न खालका मेकअपले सौन्दर्य थप चम्काइरहेको हुन्छ । सांगीतिक तथा अन्य सांगीतिक कार्यक्रममा उनलाई विनामेकअप देख्ने मानिस विरलै होलान्् । खुल्दुली लाग्न सक्छ– विनामेकअपचाहिँ यी सुन्दरी कस्ती देखिइलिन् त ? तर यो खुल्दुली मेटिने भएको छ, उनले अब चाँडै फ्यानहरूले आफूलाई विनामेकअप देख्न पाउने बताएकी छन् ।
उनकै जीवनीमा आधारित वृत्तचित्र केटी पेरी : पार्ट अफ मीमा उनी कुनै मेकअप नगरी प्रस्तुत भएकी हुन् । यी २७ वर्षीया गायिकाले अमेरिकाको द एलेन डी जेनेरेसन सोमा यो रहस्य खोलेकी हुन् । वृत्तचित्रले एक पप गायिकाको जीवनका सम्पूर्ण पक्ष उजागर गरेको उनले बताइन् । केटीको भनाइ उद्धृत गर्दै एजेन्सीले लेखेको छ– ‘जब यस फिल्ममा मलाई देख्नुहुन्छ, तपाईंहरू केही डराउन सक्नुहुन्छ किनकि यसमा केही दृश्य यस्ता छन्, जसमा म एकदमै साधारण देखिएकी छु ।’ (एजेन्सी)

प्रतिक्रिया