नेपाली राहदानी बोकेकी भारतीय महिला पक्राउ

वीरगन्ज, १४ जेठ । नेपाली राहदानीमा साउदी अरबमा काम गरेर फर्किएकी भारतीय महिला वीरगन्जमा पक्राउ परेकी छन् ।

गैरसरकारी संस्था साना हातहरूले भारत पश्चिम बंगालस्थित जलपाइगुडीकी–३० वर्षीया करुणा घले मगरलाई नियन्त्रणमा लिएको हो । उनले आफ्नो नाम करुणा घले मगर र घर दिल्ली बताए पनि उनीसँग भएको नागरिकता र राहदानी दुवैमा झापा धाइजन–६ की हेमकला प्रसाईँ उल्लेख छ ।
टाँगाबाट रक्सौल जाँदै गरेको अवस्थामा शंका लागेर सोधपुछ गर्दा फर्जी नागरिकता र राहदानी भेटिएपछि संस्थाका स्वंयसेवकले घलेलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको हो । घलेबाट बरामद भएको २०१३०७९ नम्बरको राहदानी र ३१००७९ नम्बरको नागरिकतामा झापाकी प्रसाईँको नाम उल्लेख छ । ती महिलाले दिएको दिल्लीको तीनवटा टेलिफोन नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको संस्थाका अध्यक्ष बाबुराम क्षेत्रीले बताए  ।
प्रहरीले केरकारमा घलेले घर पश्चिम बंगालमा रहेको बताएको डिएसपी दिवस लोहनीले जानकारी दिए । उनी १४ महिनाअघि दिल्लीमा दलालमार्फत फर्जी नागरिकता र राहदानी खरिद गरेर खाडी गएकी थिइन् ।
‘साउदीमा घरेलु कामदारका रुपमा काम गर्थेँ,’ घलेले भनिन्, ‘साहुनीले अत्यधिक यातना दिएपछि म घर फर्किन्छु भनेपछि साहुजीले टिकट काटेर नेपाल पठाइदिएका हुन् ।’
‘आफू भारतीय भएको र भारत नै फर्किन्छु भन्दा साहुजीले मानेन्’ घलेले थपिन्, ‘मसँग रहेका कागजात नेपाली भएका कारण उनले मलाई काठमाडौँकै टिकट काटेर पठाइदिएका हुन् ।’
उनले आफू विवाहित रहेको र छोरी र पति पश्चिम बंगालमै रहेको बताएकी छन् । घलेलाई प्रहरीले माइती नेपालको जिम्मा लगाएको छ ।

प्रतिक्रिया