दलहरुको अडान पछि बैठक निष्कर्ष विहिन

काठमाडौं, १३ जेठ । एमाओवादी र मधेसी मोर्चा तथा कांग्रेस र एमालेले राज्य पुनर्संरचनाका विषयमा आ–आफ्ना अडान राखेपछि प्रमुख दलका शीर्ष नेताहरुको बैठक विनाकुनै निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा एमाओवादी र मधेसी मोर्चाले १० देखि १४ वटा प्रदेश जातीय आधारमा बनाउन प्रस्ताव गरेपछि बैठक निष्कर्ष विविहन भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै पौडेलले एमाओवादी र मधेसी मोर्चाले जातीय राज्यका पक्षमा राखेको प्रस्ताव आफूहरुलाई स्वीकार्य नरहेको बताए ।
त्यसै गरेर पौडेलले कांग्रेस र एमालेले ६ देखि १४ प्रदेशसम्म बनाउन आफूहरु लचिलो रहेको भन्दै जातीय पहिचान सहित सामर्थ्यका आधारमा संघीयता बनाउन प्रस्तव गरेको उल्लेख गरे ।
कांग्रेस र एमालेको प्रस्तावलाई एमाओवादी र मधेसी मोर्चाले बिरोध जनाएका थिए ।
एमाओवादीका नेताहरुले जातीय राज्यको पक्षमा धारणा राखेर बैठकबाट उठेपछि आफूहरु पनि बाहिरिएको नेता पौडेलले बताए ।

यसैवीच, बालुवाटारमा जारी चार दलको बैठकमा केही समय बसेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानका विवादित विषयमा सहमति खोज्न आग्रह गरेका छन् ।
बैठकबाट निस्किएर अध्यक्ष नेम्वाङले राष्ट्रपति डा.रामवरण यादवसँग समेत भेटबार्ता गरेका छन् । शीतल निवासमा भएको भेटमा नयाँ संविधान र त्यसको तयारीका बारेमा परामर्श भएको नेम्वाङको निजी सचिवालयले जनाएको छ ।

 


प्रतिक्रिया