सघन अँध्यारोको दु:खी पुस्ता

यो संस्कृति/मन्दिर/मान्छे/कुकुर/प्रेम/गर्भपतन/राजनीति/ढुसी मिसाएर कुनै चित्रकारले बनाएको अतियथार्थवादी चित्रजस्तो सहरमा कहाँ पो हराए होलान् मेरा सपनाहरू ? म झस्कन्छु बारम्बार । हुन त पूरा सहर नै सपनाहरूको चिहानघारी हो । यहाँ मानिसहरू सधैँभरि हतारमा खोजिरहेका भेटिन्छन् सपनाहरू । कतै बाटोमा । कतै भिडमा । कतै नालीमा । कतै बागमतीमा । कतै सभ्यतामा । कतै राजनीतिक दलका नेताहरूको ढोकाढोकामा । कवि पासले भनेका थिए– सबैभन्दा खतरनाक हुन्छ सपनाहरूको मृत्यु हुनु । म अहिले त्यही खतरनाक समयको डबलीमा उभिएर पढिरहेछु मोहन कोइरालाका कविताहरू । मोहन कोइरालाका कविताजस्तै दुरुह पनि हँुदोरहेछ जीवन । जान्दै छु म । म अहिले सपनाहरूको मृत्युको शोक नै त मनाइरहेको छु । एउटा शोकमग्न मलामीजस्तो हिँड्दै गइरहेको छु । चुपचाप आफ्नै मृत्युको भयले गाँजिएको कुनै बूढो मानिसजस्तो ।
सपनाहरू मरेपछिको रित्तो आभासले कति नमीठो ऐँठन गराउँदोरहेछ जान्दै छु म । एउटा अचाक्ली रोगीको सधैँभरिको गनगनजस्तो समयमा बाँचेको छु म । एउटा अस्वाभाविकजस्तो जीवन बाँचेको बासी अनुभवले टोकिरहेको हुन्छ । म सोचिरहेको हुन्छु– उत्तरआधुनिकतामाथिको बहसले ठम्याउन सक्ला र कुनै सूत्र ? जीवनप्रति आकर्षित गर्ने कुनै विषय भेटिँदैन आजभोलि बरु मृत्युको भव्यताको बारेमा पो सोच्न थालिएछ । सपनाहरूको मृत्यु हुनु साँच्चै नै खतरनाक हँुदोरहेछ । यो देशका नागरिकले अब कुनै सपना देख्ने अधिकार बाँकी छैन । खतरनाक अपराधी हो त्यो, जो नेपालमा बसेर सपना देख्छ । कुनै रहर पालेर बस्नुजति मुख्र्यांइँ अरू केही हुँदैन सायद यो लगाम हराएको जब्बर घोडाजस्तो समयमा ।
सबै पात झरेपछि जिउँदो रूख पनि सुकेकोजस्तै लाग्छ । सुकेका हाँगाहरूले विरक्तिको भावमा हावाको बेग चिर्न नसकेर आफ्नो कुम हल्लाएजसरी हल्लिएको छु म पनि अर्कैको ताल र लयमा । यस्तै मात्र भएको छ आजभोलि । अल्कोहलिक दिमागजसरी नै बित्छन् दिनहरू । कुनै तारतम्य नमिलेरै । सधैँभरि एब्सर्ड चिन्तनमा बाँचेको औसत दार्शनिकनस्तो छ जीवन । बौलाहा कुकुरले जसरी जथाभाबी टोक्दै हिँड्न थालेको छ दु:खले । आतंकित भएको छ जीवन आजभोलि । ‘तिम्रो पर्खालमै तिम्रो बाटो छ’ एब्स्ट्रयाक्ट चिन्तन प्याज पढ्दाको सम्झना आउँछ । तर, म त मूलबाटोमै उभिएर पनि बाटो हराएर बसेको छु । झट्ट दिमागमा आउँछ यस्तो पनि दर्शन हुन्छ ? बाटाहारूमा दिशा हराएर बसेको मान्छेलाई तिम्रो पर्खालमा तिम्रो बाटो छ भनेर उल्लु बनाउन खाजेको ?
मेरो पिताको अनुहारमा टाँसिएको प्राचीन उदासी र मेरी आमाको मुटुमा पोको परेर बसेको बेचैनीमा आफ्ना सारा ज्ञानका ठेली पग्लिएर गइरहेको देख्छु म । मेरो कारणले तिनीहरूको अनुहारको तेज हराएको छ । यहाँ सन्तानहरूले अनुहारको तेजोबध गरिएका बाबुआमाहरू क्षितिजको अग्लाई हेर्दै दिक्क मानिरहेका भेटिन्छन् । उनीहरू झस्कन्छन् डाँडामाथि पुगेर हेर्दाहेर्दै बिलाएको घाम र आफ्नो उमेरको उत्तरार्धका दिनहरू सम्झेर । तिनीहरूको मलिन अनुहारमा पोतिएको दु:खमा मेरो भाग कति हो म जान्दिनँ । तर पनि त्यो दु:खले मलाई सारै गलाउँदै लगेको अनुभूतिले भिजिरहेको छु । त्यो दु:ख, त्यो उदासी, त्यो सुस्केरामा मेरो देनचाहिँ पक्कै छ सायद हिस्सा पनि ठूलै छ कमसेकम उनीहरूको बिचारमा । त्यो उदासी, त्यो बेचैनी, त्यो दु:खमा पशुपतिनाथको आँखा कहिल्यै परेनन् । तर पनि मेरी आमा त्यही पशुपतिको खुट्टामा निधार ठोक्न छोड्दिनन् । यो समय लाग्छ ड्राकुलाको मुतले भिजेको समय हो र सबैजना अब ड्राकुला नै बन्दै छन् ड्राकुलाको मुतले भिजेर ।
यो देश लाग्दैछ मात्र सपनाहरूको चिहानघारी भएर रहनेछ अब । युवाका सपना बेचेको छ यो देशको राजनीतिले । अराजकताको कीराले संक्रमित पारिसकेको छ मगज । रहेन संस्कार बाँकी । रहेन अनुशासन बाँकी । छैनन् बाँकी सपना, रहर र चाहनाहरू पनि । नेताहरूको निहित व्यक्तिगत चाहना पूरा गर्नका लागि मात्रै प्रयोग भइरहेछन् आजका युवा । राजनीतिक पार्टीहरूले मानिसलाई भाडाको साधनजसरी प्रयोग गरिरहेछन् त्यो पनि उधारो सपनाको भुइँमा टेकेर । तिनै मानिसका करंगका सारंगी बज्छन् । सधैँभरिको सत्ताकेन्द्रित राजनीतिक दाउपेचमा गोटी बनेको आजको पुस्ता एउटा ढुंगा मात्रै बनेको छ । ती ढुंगा प्रहार भइरहेछन् उनीहरूको आफ्नै जीवनका विभिन्न आयाममा र बनिरहेछन् उनीहरू बाबुआमाका अनुहारका उदासीका रङहरू । नेपाली युवाको बुद्धिको धार भुत्तिइसकेको छ । कुहिरोका कागजस्ता भएका छन् । दिशाविहीन यात्रामा निस्केका कागका बथानहरूको म पनि एउटा सदस्य मात्र भएर रहेँ । यो स्थितिमा मैले कहाँबाट ल्याउन सक्छु र खुसी अनि हाँसोका फोहोराहरू ? अनि मैले कसरी पो पार्न सक्छु सबैका सपना साकार अनि कसरी पूरा गर्न सक्छु रहरहरू ? उदासीको बादल मात्र छ मेरो वरिपरि आजको समयमा ।
वसन्तपुरको डबलीमा अर्धनग्न मोडलले कामुक हाउभाउ र कटाक्षका साथ क्रिस्टिना रोजेट्टीको कविता पढेको र सुनेर जम्मा भएको भिडले उसका तिघ्रा, छाती र ओठ हेर्दै उत्तेजनाको तालमा ताली बजाएको जस्तो टीठलाग्दो र विसंगत भएको छु । यो विसंगत र शृंखला टुटेको जीवनको बोझ कहाँसम्म घिच्याउन सकिएला ? विचारको हवाइजहाज उडिरहन्छन् मनमा । प्रश्नहरूको पोको मात्र छ मस्तिष्कमा । उत्तरहरू छैनन् । गुम्फन छ छातीभित्र तर त्यसको निकास छैन । त्रासदीको गुम्बजभित्र निसास्सिएर कति दिन पो सकिएला जीवनप्रति सकारात्मक हुन ?
यी बाटा/यी गल्ली, चोकहरू/यी जंगल/यी फाँट जहाँ जन्मिएर हुर्कें बढेँ त्यही कुराहरू अब बिराना लाग्न थालेका छन् । अब यहाँ त्यो सुगन्ध पनि छैन । त्यो मिठास पनि छैन । त्यो आफ्नोपन पनि छैन । अब सबैतिर शंका र धोकाधडी मात्रै छ । सबैतिर सावधानी मात्रै देखिन्छ । अविश्वासको बादलले यसरी ढाक्यो आकाश कि दिउँसै सघन अँध्यारो देखिन्छ । पहिलेका काका, मामा, दाजु, भाइहरू अहिले बाहुन, क्षत्री, दमाई, कामी, भोटे, मगर भए । तिनीहरूका बीचको अन्तरसम्बन्ध हराएर गइसकेको सकसपूर्ण समयको हुटहुटी मात्रै छ सबैतिर । अहिले म बाहुन मात्रै भएर रहेको अवस्था छ । सत्तामा पुगेका बाहुन नेताहरूले खाएको ऋण आज म र मजस्ता भुइँका साना बाहुनहरूले तिर्नु परिरहेको छ ।
राजा महाराजाको पालादेखि हुँदै आएको अन्याय, अत्याचार, शोषण, उत्पीडनको हिसाब बाहुन भएको नाताले आज मैले र मजस्ता साना मानिसहरूले तिर्नुपर्ने अवस्था आएको छ । गिरिजाप्रसाद, माधवकुमार, बाबुराम, प्रचण्ड र म एउटै वर्गका मानिस भएको टीठलाग्दो सत्यले कसैलाई त पक्कै फाइदा होला तर म र मेरो पुस्ताका भुरे बाहुनहरूका सपनाको अकाल मृत्यको क्षतिचाहिँ कसले पूर्ति गर्ला ? सायद त्यतिबेला प्रत्येक मान्छेले एक्लै संघर्ष गर्नुपर्नेछ । खाइरहेको छ कुटुकुटु सबैको मुटु यतिबेला डर, त्रास र भयका कीराहरूले । आकाशभरि कोरिएका छन् भयका राक्षसी आकार । थाहा छैन ती राक्षसहरूको हात–हातमा भएका खड्ग, तरबार कतिबेला खस्ने हुन् र जाने हो ज्यान । यस्तो उकुसमुकुस छ जीवनको वर्तमान त कसरी कोर्ने हो भविष्यको रंगीबिरंगी चित्र ?
हाम्रा नेताहरू जातको नाममा राज्य बनाएर सिमाना कोरिरहँदा संसारमा कति सिमानाहरू मेटिइरहेका छन् । कति पर्खालहरू ढलिरहेका छन् । हाम्रा नेता जातका नाइकेहरूलाई राज्य माग्न उक्साइरहँदा अमेरिकामा वैज्ञानिकहरू अन्तरिक्ष यान प्रक्षेपण गरेको खुसीयाली मनाइरहेका थिए त्यो पनि निजीस्तरबाट । त्यही मान्छे जातिलाई राज्य बाँडेर सगुन पिएको गन्हाउने मुख लिएर ग्लोबल सिटिजनको विषयमा भाषण गर्छ, लाजिम्पाट आसपासको क्षेत्रमा यो समयको दोहोरो झापड सहन सक्ने सामथ्र्य पनि छैन नेपाली युवामा अब । यो विरक्तिको भावलाई कसरी व्यवस्थापन गर्न सकिएला ? यो एउटै समयमा बाँचिरहेका भिन्दाभिन्दै युगलाई अन्तरघुलन गर्न सक्नेछैनन् नेपाली युवाले ।
कारण अनेक छन् र म यतिबेला निराशाको चर्को भुमरीमा फसेको छु । मेरा साथीहरू अनगिन्ती छन् यतिबेला । लाख प्रयत्नको बाबजुद केही नपाउने पनि म नै हुन्छु र अकर्मण्यको लालमोहर पनि मेरै निधारमा लगाइन्छ । धेरै पढ्ने सपना मेरै गिदीमा कोचिन्छ अनि धेरै पढिसकेपछि मूर्ख हुनुका धब्बा पनि मैले नै बोक्नुपर्छ निधारमा । पैसा र पहुँचको कुनै स्रोत नभएको मजस्तो मानिसले यो देशमा केही गर्न नसक्ने रहेछ भनेर जानेको छु । तर पनि यो देशलाई मैलेचाँहि अझै बलिदान गर्नुपर्छ रे, कुनै विद्वान्ले भनेको सम्झन्छु । यतिका सपना, रहर, भविष्यको बलि दिएर पनि पुगेको रहेनछ । सबै सहन बाध्य छु म र मेरो समयको पुस्ता तर पनि एक प्रश्नको घिडघिडोले खुबै पछ्याउन थालेको छ अचेल । ठूलो झन् ठूलो हुने र सानो झन् भास्सिँदै जाने एक थान संविधान दिन पनि सक्दैन हाम्रो देशको राजनीतिले । मलाई राज्य चाहिएको छैन चाहिएको छ त मात्र यो सघन अँध्यारोमा एउटा जुनकीरीको उज्यालो । छ कसैसँग ?

प्रतिक्रिया