चुजी पुस्कर

चलचित्र क्षेत्रमा उदाएका हुन्, पुस्कर राउत । आउनासाथ करियरका शुभ संकेत देखाउन थालेका छन् । रहरहरू झनझनै झाँगिएर जाँदै छन् । ‘मलाई नायिका रेखा थापासँग लभस्टोरी चलचित्र गर्ने चाहना छ,’ उनले सुनाए ।
चलचित्र किङमा अभिनय गरेपछि नेपाली रजतपटमा उनी नायकका रूपमा दर्ज भएका हुन् । यसको आधारभूमिका रूपमा आधा दर्जन म्युजिक भिडियो र केही नाटकमा अभिनय गरेको अनुभव थियो उनीसँग ।
अभिनय, नृत्य र द्वन्द्वको औपचारिक प्रशिक्षण लिइसकेपछि मात्र यो क्षेत्रमा छिर्ने साहस गरेको उनले सुनाए, ‘किनकि, मैले जस्तोखालको भूमिका पनि सशक्ततासाथ प्रस्तुत गर्नु छ र क्षमतावान्हरूसँग भिड्न सक्ने बनेर निस्कनु छ ।’
त्यसो त उनी कलाक्षेत्रमा लागेको दशकबढी भइसकेछ, ०५७ सालबाट हेर्दा । तैपनि, म्युजिक भिडियो, नाटक र चलचित्रचाहिँ किन यति कम संख्यामा त ? ‘किनकि म अलि चुजी छु, छानेर मात्रै गर्छु,’ उनले भने, ‘थोरै गरौँ, राम्रो गरौँ भन्ने मेरो मान्यता हो ।’ जीविकाका लागि चाहिँ कन्स्ट्रक्सनसम्बन्धी बिजनेसमा हात हालेका रहेछन् पुस्करले । यो अवधिमा उनले चलचित्र क्षेत्रमा पैसा हुने र चाकडी–चाप्लुसी गर्नेहरुले बढी अवसर पाएको देखेका रहेछन् । तर, आफूचाहिँ यी दुवैमा नलागेर विशुद्ध क्षमताकै आधारमा स्थापित हुने सोचमा रहेको सुनाए । आफू दामका लागि नभएर नामका लागि यो क्षेत्रमा आएको बताउने यी नवनायक ५ फिट ४ इन्च अग्ला छन् । एक समय एकैचोटि दुई चलचित्रको अफर आए पनि आमा बिरामी भएका कारण समय दिन नपाएको उनले सुनाए । अब भने सकेसम्म राम्रा चलचित्रको अफर खेर जान नदिने सोचाइमा रहेछन् पुस्कर ।
छिट्टै अरूलाई विश्वास गर्नुलाई आफ्नो कमजोरी बताउने पुस्कर फुर्सदको समयमा इन्टरनेट चलाउन मन पराउँदा रहेछन् ।

प्रतिक्रिया