संसार आफ्नै साउनमा

काठमाडौं, १२ जेठ । चलचित्र प्रदर्शनमा लाग्दै आएको क्यु सिस्टम हटेपछि पालो कुरेर बसेका चलचित्र प्रदर्शनका लागि हतारिन थालेका छन् । निर्माताहरू प्रदर्शनको समय मिलाउन र प्रचारप्रसारका लागि तात्न थालेका छन् । यस्तै दौडधुपमा लागेका छन्, चलचित्र

संसार आफ्नैका निर्माता तथा नायक गोविन्द शाही पनि ।
कहाँ छौ कहाँ नामक चलचित्रमार्फत नेपाली चलचित्र उद्योगमा नायक तथा निर्माताका रूपमा प्रवेश गरेका शाहीको चलचित्र संसार आफ्नै साउनको दोस्रो साता राजधानीसहित अल नेपाल प्रदर्शन हुने भएको छ । चलचित्र संसार आफ्नैलाई रञ्जित रानाले निर्देशन गरेका छन् ।
गोविन्द शाही, झरना थापा, सुमन सिंहलगायतको अभिनय रहेको चलचित्र शिवशंकर फिल्म प्रोडक्सनको ब्यानरमा बनेको हो । यो सत्यघटनामा आधारित नारीप्रधान चलचित्र रहेको शाहीले जानकारी गराए । ‘क्यु सिस्टमको खारेजीसँगै सिनेमाको प्रदर्शन मिति पनि फेर बदल भएकाले चलचित्रको प्रचारप्रसार, प्रदर्शनको व्यवस्था मिलाउने काममा यतिखेर निकै चटारो परेको छ,’ शाहीले भने ।
त्यसो त शाहीले अहिले अर्को चलचित्र पराई पनि निर्माणको अन्तिम चरणमा पुर्‍याएका छन् । मुडे, कुलेखानी, नगरकोट, शैलुङलगायत रमणीय स्थानमा छायांकन गरिएको चलचित्रको अहिले पोस्ट प्रोडक्सनका काम चलिरहेको उनले जानकारी गराए ।

प्रतिक्रिया