चौबीस वर्षपछि सुकी विदेश जाने

यांगुन : म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले २४ वर्षपछि विदेश भ्रमण गर्ने भएकी छन् । आगामी साता थाइल्यान्डमा हुने विश्व आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्न उनी त्यहाँ पुग्ने तय भएको छ ।
सुकीले युरोप भ्रमणको तयारीसमेत गरिरहेकी छन् । उनी आगामी महिना युरोप भ्रमणमा निस्कने भएकी छन् । नर्वे पुगेर उनले नोबेल पुरस्कारसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम बनिरहेको छ । उनको बेलायत भ्रमणको तयारी पनि भइरहेको छ । सुकीले बेलायती संसद्लाई सम्बोधन गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको जनाइएको छ ।
बेलायती संसद्लाई सम्बोधन गर्न पाउनुलाई निकै महत्त्वपूर्ण मानिन्छ । सन् २०११ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले र सन् २०१० मा पोप बेनेडिक्ट १६औँले मात्र बेलायती संसद्लाई सम्बोधन गर्ने अवसर पाएका थिए । जुन १४ मा अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनलाई सम्बोधन गर्न उनी जेनेभा जाने तयारी पनि भइरहेको छ । (एएफपी)

प्रतिक्रिया