२० दिनमै कांग्रेस सरकारबाहिर


काठमाडौं, १२ जेठ । संविधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस सरकारमा सहभागी भएको २० दिनमै बाहिरिएको छ । संविधानसभाको म्याद थपका लागि सरकारले मंगलबार व्यवस्थापिका–संसद् सचिवालयमा अन्तरिम संविधान संशोधन विधेयक दर्ता गरेपछि असन्तुष्ट बनेको कांग्रेसले बिहीबार सरकारबाट बाहिरिने निर्णय लिएको छ ।
म्याद थप गर्ने सरकारी निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बिहीबार बसेको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा स्वीकृत गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आग्रह पनि गरेको छ । ‘म्याद थपसम्बन्धी सरकारको कदमप्रति असहमति जनाउँदै सरकारमा सहभागी हुनुभएका कृष्णप्रसाद सिटौला र सूर्यमान गुरुङले दिएको राजीनामा स्वीकृतिका लागि प्रधानमन्त्रीसमक्ष पठाउने निर्णय गर्दछ,’ बैठकपछि कांग्रेस मुख्यसचिव वसन्तकुमार गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारमा गएका महामन्त्री सिटौला र केन्द्रीय सदस्य गुरुङले बिहीबार बिहान नै पार्टी सभापति सुशील कोइरालामार्फत प्रधानमन्त्रीलाई राजीनामा दिएका थिए । सर्वोच्चको फैसलाविपरीत मंगलबारको मन्त्रिपरिषद् बैठकले संविधानसभाको म्याद तीन महिना थप गर्न विधेयक दर्ता गरेपछि पार्टीमा सरकार छाड्नुपर्ने आवाज तीव्र बनेको थियो । उपप्रधानमन्त्री सिटौला र मन्त्री गुरुङले दलीय सहमतिविपरीत माओवादी नेतृत्व एकलौटी ढंगले अघि बढेको आरोप लगाउँदै सरकारमा बस्नुको औचित्य समाप्त भएको उल्लेख गरेका छन् ।
पाँचबुँदे सहमतिअनुरूप कांग्रेस गत २३ वैशाखमा पहिलोपटक माओवादी नेतृत्वको सरकारमा सहभागी भएको थियो । पाँच मन्त्री पाएको कांग्रेसले सिटौला र गुरुङलाई मात्रै सरकारमा पठाएको थियो । सिटौलाले रक्षा, कानुन तथा न्याय, संसदीय व्यवस्था तथा संविधानसभा मन्त्रालय र गुरुङले स्थानीय विकास अनि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
त्यस्तै, कांग्रेसले न्यायालयको फैसला र दलहरूबीचको सहमतिविपरीत सरकारले संविधानसभाको म्याद थपका लागि संशोधन प्रस्ताव दर्ता गराएको निष्कर्ष निकाल्दै भट्टराईसँग पनि सरकारको नेतृत्व गरिरहने नैतिक अधिकार बाँकी नरहेको ठहरसमेत गरेको छ । ‘संविधान निर्माणको स्वाभाविक बाटो छाडेर मन्त्रिपरिषद्ले गरेको म्याद थपको निर्णय गम्भीर संवैधानिक त्रुटि थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पदमा रहिरहने नैतिक र संवैधानिक अधिकार गुमाउनुभएको कांग्रेसको ठहर छ ।’

माओवादी इमानदार भएन : सिटौला

काठमाडौं : मन्त्री पदबाट राजीनामा दिएका कांग्रेस महामन्त्री सिटौलाले दलहरूबीच भएको सहमतिप्रति माओवादी इमानदार नभएको आरोप लगाएका छन् । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री सिटौलाले माओवादी नयाँ संविधान निर्माणको प्रतिबद्धता र सहमतिबाट पछि हटेको आरोप लगाउँदै माओवादी नेतृत्वको सरकारमा बस्नुको औचित्य नभएको बताए ।
‘दलहरूबीचको विश्वास र समझदारी रहँदैन भने सरकारमा बस्नुको के अर्थ ?’ उनले भने, ‘सबै राजनीतिक दल सरकारमा सहभागी भए भने संविधान निर्माणमा सहज होला भनेर हामी (कांग्रेस र एमाले) सरकारमा गएका थियौँ ।’
दलहरूबीच १४ जेठअघि नै संविधान जारी गर्ने र संविधान जारी गर्नुअघि कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको उल्लेख गर्दै उनले सहमति कार्यान्वयनमा प्रधानमन्त्री र माओवादीले चासो नदेखाएको बताए ।
उनले संविधानसभाको म्याद अब कुनै पनि हालतमा नथपिने उल्लेख गर्दै भने, ‘बाबुराम भट्टराईले राजीनामा दिएर कांग्रेसको नेतृत्वमा सरकार बने पनि म्याद थपिँदैन ।’ अझै छोटो प्रक्रियाबाट १४ जेठमै संविधान जारी गर्न सकिने उनको भनाइ थियो । (सौस)

प्रतिक्रिया