प्रमुख चार दल बैठक निष्कर्ष बिहिन

काठमाडौं, ११ जेठ । एमाओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष सकिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको बैठकमा राज्य पुनर्संरचना लगायतका विवादित विषयमा छलफल भए पनि कुनै सहमति हुन नसकेको हो ।
कांग्रेस र एमालेले राज्य पुनर्संरचनाका बारेमा पूरानै अडान राखेपछि बैठक निष्कर्षविहीन भएको नेताहरुको भनाई छ ।
एकीकृत माओवादी र मधेसी मोर्चाले राज्य पुनर्संरचना गर्दा प्रदेशहरुको नामाङ्कन र सीमाङ्कनसहित अगाडि जानुपर्ने अडान राखेका थिए । कांग्रेस र एमालेले नामाङ्कन र सीमाङ्कन नगरी राज्य पुनर्संरचनाको विषयलाई सङ्घीय आयोग बनाएर जिम्मा दिनुपर्ने जनाएका थिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सङ्घीयताको विषयमा राज्य पुनर्संरचना आयोग र संविधानसभाअन्तर्गत राज्य पुनर्संरचना समितिले प्रस्तुत गरेको अवधारणामा नै रहेर सङ्घीय आयोगमार्फत विवादित विषय टुङ्ग्याउनु पर्ने बताए । उनले बाँकी विषय रूपान्तरित संसदमार्फत विवादित विषय हल गर्ने प्रस्ताव गरेको बताएका छन् ।
उनले भने, ‘सङ्घीयताको विषयमा बहुपहिचानमा आधारित रहेर राज्य पुनर्संरचना गरौँ भन्ने हामीले प्रस्ताव राख्यौँ, एमाओवादी र मोर्चाले त्यो स्वीकार गरेनन् त्यसैले आज कुनै निष्कर्ष निस्केन ।’
एमाले अध्यक्ष झलनाथ खनालले जेठ–१४ सम्म संविधान जारी गर्ने गरी दलहरुबीच छलफल भइरहेको बताए । उनले मेरो गोरुको बाह्रै टक्का गरेर सहमति हुन नसक्ने बताए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस र एमाले सङ्घीयताविहीन संविधान बनाउन लागेकाले समस्या पैदा भएको आरोप लगाए ।

प्रतिक्रिया