कर्मचारी लापरबाहीले डेढ करोड घाटा

काठमाडौं,११ जेठ । विद्युत् कर्मचारीको बेवास्ताका कारण तिनाऊ साना जलविद्युत् आयोजना मर्मत नहुँदा नेपाल विद्युत् प्राधिकरणले डेढ करोड रुपियाँभन्दा बढी घाटा व्यहोरेको छ ।

सो आयोजनाको दुई किलोमिटर नजिकै नेपाल हाइड्रो पावर र क्रिम हाइड्रो छन् । तिनले विद्युत्का टर्वाइनदेखि उपकरणसम्म मर्मत गर्छन् तर तिनाऊको साफ्टा वाइलिङको एक वर्षदेखि मर्मत हुन सकेको छैन । विद्युत् कर्मचारीको बेवास्ताकै कारण लामो समयसम्म सो परियोजना मर्मत हुन नसकेको हो ।
एक मेगावाटको सो आयोजनाबाट अहिले चार सय ३३ किलोवाट मात्र विद्युत् उत्पादन हुँदै आएको छ । तीनमध्ये सय ५० युनिटको पनि मर्मत भइरहेको छ भने एक वर्षअघि बिग्रिएको साफ्टा वाइलिङको अझै मर्मत गर्ने कार्य अघि बढेको छैन । ‘तिनाऊका कर्मचारीकै बेवास्ताले एक वर्षदेखि साफ्टा वाइलिङ मर्मत हुन सकेको छैन,’ प्राधिकरण ग्राहक वितरण पश्चिमका महाप्रबन्धक उपेन्द्रदेव भट्टले भने, ‘यही कारण प्राधिकरणले करोडाँै घाटा बेहोरिरहेको छ तर कर्मचारीले दुई किलोमिटर नजिक रहेका वर्कसपमा लगेर मर्मत गर्दै गरेनन् ।’ प्राधिकरणका अनुसार एक वर्षसम्म दुई सय ५० किलोवाटको विद्युत् बन्द हुँदा प्राधिकरणले एक करोड ५३ लाख रुपियाँ बराबर घाटा व्यहोरिसकेको छ । प्राधिकरणले भने पटकपटक मर्मतका लागि आग्रह गरे पनि कर्मचारीले बेवास्ता गरेको जनाएको छ ।
प्राधिकरण बुटवल क्षेत्रीय प्रमुख महेन्द्रराज अधिकारीले पनि कम चासो भएकाले बन्न नसकेको र तुरुन्तै बनाउनका लागि निर्देशन दिएको बताए । ‘अलि पुरानो भएर पनि समस्या छ तर कम चासो दिएको हो,’ उनले भने ।
तिनाऊ जलविद्युत्का प्रमुख नवराज सुवेदी बिग्रिएको साफ्टा वाइलिङको मर्मत पटकपटक गर्दा पनि पुन: बिग्रिएकाले समस्या आएको बताए । ‘क्रिम हाइड्रोले ग्यारेन्टीका साथ बनाएको थियो, फेरि बिग्रिएपछि समस्या परेको हो, पुन: मर्मत गर्न भनेका छौँ,’ सुवेदीले थपे, ‘असारभित्र बनिसक्छ ।’ अर्को युनिटसमेत असारभित्र बनाइसक्ने लक्ष्यका साथ मर्मत भइरहेको उनले जानकारी दिए ।
‘पुराना कामलाई निरन्तरता’
काठमाडौ : ऊर्जामन्त्री राधा ज्ञवालीले पुराना कामलाई निरन्तरता दिने बताएकी छिन् ।
बुधबार जलस्रोत पत्रकारसँगको छलफलमा उनले लोडसेडिङको समस्या रहेकाले तत्काल गर्नसक्ने काममा बढी सक्रिय हुने बताएकी हुन् । ‘म सबैसँग छलफल गरिरहेको छु, ऊर्जा विकासमा केही गर्न चाहन्छु, मेरो कुनै स्वार्थ छैन, खाली ऊर्जाको विकास गर्नु मात्र मेरो स्वार्थ हो,’ उनले भनिन् ।
मन्त्रीको म्याद अनिश्चित भएको भन्दै उनले ऊर्जामन्त्री भएसम्म इमान्दारितापूर्वक काम गरेर देखाउने बताइन् । ‘पूर्व ऊर्जामन्त्रीसँग भेटघाट गरिरहेको छु, विष्णु पौडेल, रामजी शर्मालगायतसँग भेट भइसक्यो, पोष्टबहादुर बोगटीसँग समय मागेको छु,’ उनले थपिन्, ‘उनीहरूसँगको अनुभव लिएर राम्रा कामको निरन्तरता दिन्छु ।’ आफू ऊर्जाक्षेत्रका लागि नयाँ भएकाले सबैसँगको छलफलबाट कार्यक्रम र योजना अघि बढाउने उनको भनाइ छ ।
छलफलमा पत्रकारले अस्थिर सरकार र अस्थिर आयोजनाका कारणले जलविद्युत् क्षेत्रले फड्को मार्न नसकेको भन्दै अघिल्ला सरकारले अघिसारेका कार्यक्रम र निर्माणाधीन जलविद्युत् आयोजना समयमै सम्पन्न गर्नका लागि सक्रिय हुन आग्रह गरेका थिए । उनीहरूले अनुभवी कर्मचारीको फेरबदलभन्दा तत्काल विद्युत्को क्षमता बढाउने खालका कामलाई प्राथमिकता दिन आग्रह गरे ।

प्रतिक्रिया