बन्द खुलेसँगै खुले चित्रहरू

काठमाडौं, ११ जेठ । लगातारको बन्दले कार्यालय सुनसान भए अनि एक्लिए भर्खरै ग्यालरीमा झुन्डिएका चित्रहरू पनि । गत शनिबार लाजिम्पाटस्थित सोल्यास इन्टरनेसनल ग्यालरीमा झुन्डिँदा ती चित्रले सयौँ मान्छेलाई प्राकृतिक सौन्दर्यको स्वाद चखाएका थिए । तर, त्यसपछिको लगातार बन्दले उनीहरूको ‘सह’ खोस्यो ।

प्राकृतिक दृश्यांशहरूलाई ग्वाम्लाङ्ङ अँगालेका ती चित्र यो अवधिमा बन्द ग्यालरीभित्र कत्तिको निस्सासिए, ती चित्रकी जननीले पनि सायद थाहा पाइनन् । तर, हिजोबाट बन्द खुलेपछि उनी सरासर ग्यालरी पुगिन् र झोक्राएर बसेका चित्रहरू सुमसुम्याइन् र तिनीहरूको सौन्दर्य ब्युँताइन् । फर्किएका अवलोकनकर्ताको प्रशंसाले ग्यालरीमा रौनक बढेको छ, चित्रहरू रमाएका छन् । प्रसंग हो– कलाकार रागिनी उपाध्यायको एकल चित्रकला प्रदर्शनीको । लगातारको बन्दले प्रदर्शनीलाई पूरै प्रभाव पारेको उनले सुनाइन् ।
ग्यालरीमा जम्माजम्मी ४२ वटा चित्र छन् । पेन्टिङ मोटोर र एक्रेलिक कलरका ती चित्रलाई एउटै शीषर्कमा समेट्दा ‘प्रकृति बोल्छ’ भन्न रुचाएकी छन् रागिनीले । तीमध्ये ‘प्रेग्नेन्ट पारिजात’ शीर्षकको चित्र यी स्रष्टा आफैँलाई पनि अत्यधिक मन पर्दो रहेछ । ‘यसअघिका प्रदर्शनमा राखिएकाभन्दा यो प्रदर्शनीमा राखिएका चित्र बनाउन धेरै मिहिनेत र समय खर्चिएकी छु,’ उनले सुनाइन्, ‘६ महिनाभन्दा लामो समय यिनका लागि मिहिनेत गरेकी छु ।’ आफूले प्रकृतिमा बसेर लामो समय गरेको रिसर्च अनि अनुभूतिहरू यी चित्रमा झल्कने उनले प्रस्ट्याइन् । भनिन्, ‘यी बनावटी एवं काल्पनिक होइनन् ।’ यसअघि राजनीतिलाई व्यंग्य गरिएका चित्र बढी बनाउने रागिनीले यसपालि भने प्रकृतिसँग खेल्दै सामाजिक एवं धार्मिक विकृतिलाई व्यंग्य गरेको सुनाइन् । भनिन्, ‘हिन्दू धर्मभित्रका विकृतिलाई पनि व्यंग्य गरेकी छु, सकारात्मक आग्रहमार्फत । यी चित्रले हिन्दूलाई धर्मबाट बढेर दर्शनका रूपमा प्रस्तुत गरेका छन् ।’
गत शनिबार औपचारिक रूपमा ग्यालरीमा झुन्डयाउनुभन्दा एक साता अघिदेखि यी चित्रको प्रिभ्यु गरेको उनले बताइन् । ‘विदेशी स्टाइलमा गरिएको प्रिभ्युबाट प्रदर्शनको शैलीमा नयाँपनको सुरुआत भएको छ,’ उनले भनिन्, ‘तर, के गर्नु, बन्दले पो मार पार्‍यो ।’ प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

प्रतिक्रिया