‘म्याद थप्न प्रधानमन्त्रीको राजीनामा आउनु पर्छ’

काठमाडौ, १० जेठ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद थपका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनु पर्ने सर्त अगाडि सारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता नेपालले दुई दिनभित्रमा संविधानका सबै विवादित विषयमा सहमति गरेर प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने बताए । उनले संविधान लेखेर जारी गर्न बढीमा एक महिनासम्म मात्रै संविधानसभाको म्याद थप्न सकिने पनि स्पष्ट पारे ।
नेता नेपालले भने, ‘दुई दिनमा संविधानका सबै विवादित विषयमा सहमति गरेर फेरी नउल्टिने गरी लक गर्नु पर्छ ।’
एमाओवादीलाई यथास्थितीमा विश्वास गर्न नसकिने भन्दै नेपालले प्रधानमन्त्रीले राजीनामा नगरे म्याद थप्न असहयोग गर्ने बताएका छन् ।
नेता नेपालले प्रधानमन्त्री भट्टराई र एमाओवादीप्रति दलहरुको विश्वास हराएकाले प्रधानमन्त्रीले राजीनामा दिए विश्वासको आधार तयार पार्नुपर्ने बताए ।
उनले भने, ‘पाँच बुँदे सहमति गर्नु अघिनै छिटोमा ७ र ढिलोमा १० गते प्रधानमन्त्रीले राजीनमा दिने सहमति छ ।’ सो कागजी सहमति आफूहरुसँग सुरक्षित रहेको नेता नेपालको भनाई छ ।
‘मुलुकमा अप्ठ्यारो अवस्था छ,’ नेता नेपालले भने, ‘सरकारमा बस्ने वा हट्ने भन्ने विषय स्थायी समितिको बैठक बसेर निर्णय गर्छौ ।’
उनले एमाओवादीले षडयन्त्रमुलक ढंगले हिजो साँझ पाँच बजे म्याद थपको प्रस्ताव ल्याएको आरोप लगाए ।
उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई षडयन्त्र र जालझेलको अर्को नाम भएको आरोप लगाएका छन् । उनले दाहाललाई हिटलर, पोलपोट र ईदिअमिनको जस्तो मनोबृत्ति त्याग्न समेत आग्रह गरे ।
नेपालले एमाओवादी एमाले र कांग्रेस फुटाएर आफ्नो स्वार्थ पुरा गर्ने दाउमा रहेको भन्दै एमाओवादीको सो योजन फेल बनाईदिएको बताए ।
सर्वोच्च अदालतको सम्मान र संविधान निर्माणका लागि विश्वासको बातावरण निर्माणमा एमालेको प्रयास रहने उनले बताएका छन् ।

प्रतिक्रिया