३७ करोडले बढ्यो सेयर धितो कर्जा

काठमाडौ, १० जेठ । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा वाणिज्य बैंकहरूको सेयर धितो कर्जा ३७ करोड १७ लाख रुपियाँँले बढेको छ । चालु अवको ६ महिनासम्म सेयर धितोमा दिइएको कर्जा पाँच अर्ब ५४ करोड २५ लाख रुपियाँँ पुगेको र सेयर बजारमा केही सुधार भएका कारण सेयर कर्जामा पनि वृद्धि भएको हो ।
कुल ३२ वाणिज्य बैंकहरूले चालु आवको चैत मसान्तसम्म पाँच अर्ब ९१ करोड ४२ लाख रुपियाँ सेयर धितोस्वरूप कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने बैंकहरूले सात अर्ब ६२ करोड ९५ लाख रुपियाँँ कर्जा प्रवाह गरेका थिए । गत वर्षको तुलनामा सेयर धितो कर्जामा र्‍हास आए पनि चालु आवको दोस्रो त्रैमासिकका तुलनामा भने सेयर धितो कर्जामा वृद्धि भएको हो ।
‘पछिल्लोपटक राजनीतिमा भएको सकारात्मक परिवर्तनसँगै सेयर बजारमा पनि सुधार आएकाले सेयर धितो कर्जामा पनि वृद्धि भएको हो,’ सेयर विश्लेषक रवीन्द्र भट्टराईले भने । पछिल्लो समयमा दुई सय ९२ सम्म पुगिसकेको नेप्से परिसूचक बढेर साढे चार सयको हाराहारीसम्म पुग्यो । सेयर मूल्य बढ्दा सेयर धितोको कर्जा रकम पनि बढी पाइने हुँदा कर्जा रकम बढ्न गएको हो ।
नेप्से परिसूचक एक हजार एक सय ७५ अंकसम्म पुग्दा वाणिज्य बैंकहरूले कुल १० अर्ब रुपियाँँभन्दा बढी रकम सेयर बजारमा लगानी गरेका थिए । बैंकहरूले अन्धाधुन्ध सेयर बजारमा लगानी गर्न थालेपछि नेपाल राष्ट्र बैंकले कुल सेयर मूल्यको एक सय ८० दिनको औसत मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण दिन पाइने प्रावधान ल्यायो । त्यसपछि भने सेयर बजारमा गिरावट आउन थालेको थियो । सेयर कर्जाको अवधि पनि एक वर्षसम्म मात्र थियो । सेयर बजार घटेर न्यून विन्दुमा पुगेपछि राष्ट्र बैंकले सेयर धितोसम्बन्धी निर्देशनमा परिवर्तन गरी सम्बन्धित बैंकको सो मूल्यांकनमा सेयर धितो कर्जा दिन सकिने निर्देशन जारी गर्‍यो । राष्ट्र बैंकको निर्देशनपछि पनि निरन्तर घटिरहेका सेयर बजारका कारण पटकपटक मार्जिन कल तिर्दै जानुपर्ने कारणले सेयर धितोका ऋणी निराश बनेका थिए । पछिल्लो समयमा बजारमा राजनीतिक सहमति र असहमतिसँगै चहलपहल हुन थालेपछि भने विस्तारै पुन: लगानीकर्ता सेयर धितो कर्जामा फर्किएको हुनसक्ने एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
‘बैंकहरूले पनि सेयर मूल्य बढ्दै जाँदा नयाँ बैंकका सेयरको विरुद्धमा पनि कर्जा दिएका छन् । त्यसैले पनि सेयर धितो कर्जामा केही वृद्धि भएको हो,’ विश्लेषक भट्टराई थप्छन् । रकमका आधारमा अत्यधिक सेयर धितो कर्जा प्रदान गर्ने बैंकहरूमा नेपाल बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, किस्ट बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, एनएमबी बैंक र ग्लोबल बैंक रहेका छन् । वाणिज्य बैंकहरूले अधिकतम ८९ करोड रुपियाँँसम्म सेयर धितो कर्जा प्रदान गरेको तथ्यांकले देखाएको छ ।
गत आवको चैत मसान्तसम्मका तुलनामा सेयर धितो कर्जामा वृद्धि गर्ने वाणिज्य बैंकहरूमा किस्ट बैंक सबैभन्दा अगाडि रहेको छ । उक्त बैंकले गत आवको चैत मसान्तका तुलनामा आठ करोड ३० लाख रुपियाँँले सेयर धितो कर्जामा वृद्धि गरेका छन् । त्यसैगरी एनसिसी बैंकले ६ करोड ७३ लाख, लक्ष्मी बैंकले ६ करोड १६ लाख, कुमारी बैंकले साढे दुई करोड, सेन्चुरी बैंकले ६५ लाख र कृषि विकास बैंकले २७ लाख सेयर धितो कर्जामा वृद्धि गरेका छन् ।

प्रतिक्रिया