श्रम स्वीकृति लिने संख्या आधा घट्यो

काठमाडौं, १० जेठ । लगातार बन्दका कारण वैदेशिक रोजगारीका लागि बिदेसिनेको संख्या ५० प्रतिशत घटेको छ । विभिन्न संघ/संस्था र समूहका बन्दका कारण यातायात सुचारु नहुँदा रोजगारीमा जाने कामदार राजधानी आउन नसेकाले बिदेसिनेको संख्या ५० प्रतिशतसम्म कमी आएको हो ।
करिब एक महिनादेखि भइरहेको लगातारको बन्दले वैदेशिक रोजगार विभागबाट विदेश जानका लागि स्वीकृति लिनेको संख्या आधा घटेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई बन्द सुरु भएपछि विभागमा संस्थात वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ५० प्रतिशत घटेको बताउँछन् । व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या भने करिब ८० प्रतिशतसम्म कमी आएको उनको भनाइ छ ।
अन्य समयमा दैनिक एक हजार नयाँ श्रम स्वीकृति लिने र करिब सात सय पुरानो श्रम स्वीकृति नवीकरण हुने गरेको विभागमा अहिले ६ देखि सात सयको हाराहारीमा मात्र श्रम स्वीकृति लिन आएको भट्टराईले बताए । ‘विभागले दैनिक औसतमा एक हजार नयाँ श्रम स्वीकृति दिने गथ्र्यो,’ उनले भने, ‘अहिले पाँच सयको हाराहारीमा यो संख्या आइपुगेको छ ।’ विभागका अनुसार सामान्य अवस्थामा दैनिक सत्र सय मानिस वैदेशिक रोजगारीमा जाने गर्छन् तर अहिले दैनिक ६ सयदेखि सात सय मात्र जाने गरेको विभागको तथ्यांक छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म तीन लाखभन्दा बढी कामदार रोजगारीमा गए पनि जेठ लागेपछि भने बिदेसिनेको संख्या न्यून भएको छ । विगतका महिनामा औसत ३० हजार कामदार विदेश गएको विभागले जनाएको छ ।
यता गाउँगाउँबाट वैदेशिक रोजगारीमा जान राजधानी आउनुपर्ने कामदार बाटैमा अलपत्र परेकाले बिदेसिनेको संख्या ह्वात्तै घटेको व्यवसायीको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले समयमा कामदार आउन नसक्दा ठूलो संख्यामा कामदारको हवाई उडान रद्द भइरहेको बताए । उनले विदेश जानेको संख्या ९५ प्रतिशतसम्म कमी आएको दाबी गरे ।
‘यातायात सुचारु छैन, हवाई सेवासमेत नपुगेका ठाउँबाट मानिस राजधानी आउनुपर्छ,’ तामाङले भने, ‘समयमा आउन नसकेकै कारण विदेसिनेको संख्या करिब ९५ प्रतिशत कमी आएको छ,’ उनले गाउँगाउँबाट विदेश जान आउनुपर्ने मान्छे नआउँदा हवाई उडान मात्र नभई कतिपयको प्रवेशाज्ञा (भिसा) समेत रद्द भइरहेको बताए । आगामी २० जेठसम्मका लागि प्राय: सबै म्यानपावर कम्पनीले कामदारको अन्तर्वार्ता र फ्लाइटसमेत क्यान्सिल गरेको बताएका छन् ।
बन्द–हडतालको समय लम्बिदै गए थप जटिलता आउने र व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु पर्ने उनको बुझाइ छ । ‘हामीले अहिले पनि रोजगारदातालाई कामदारको अन्तर्वार्ता र डिमान्डका लागि तत्काल नेपाल नआउन भनेका छौँ,’ तामाङले भने, ‘मुलुकको संक्रमणकालीन राजनीतिक अवस्थाकै कारण वैदेशिक रोजगार क्षेत्रमा समेत ठूलो चुनौती र समस्या देखा पर्दै गएको छ ।’
विदेशी रोजागरदातालाई नेपालमा सुरक्षाको प्रत्याभूति नभएकाले नै तत्काल नआउन सुझाव दिएको र अझै बन्दको श्रृंखला बढ्दै गए वैदेशिक रोजगारीमा थप जटिलता बढ्दै जाने उनले बताए ।

प्रतिक्रिया