म्युजिक भिडियोमै रमाइलो

टेलिभिजन च्यानलहरूसँगै म्युजिक भिडियोको संख्या अत्यधिक बढिरहेको छ । यस्ता भिडियोमार्फत नयाँ कलाकार पनि प्रशस्तै जन्मिरहेका छन् । म्युजिक भिडियोले जत्तिको कलाकार त अहिले सिनेमा क्षेत्रले पनि जन्माएको छैन । सुन्दा अचम्म लाग्न सक्छ– सिनेमाका स्टार भनेझैँ म्युजिक भिडियोबाट पनि स्टार बन्न सकिने अवस्था सिर्जना भएको छ । म्युजिक भिडियोभित्र पनि विभिन्न विधाका छुट्टाछुट्टै स्टार बन्ने अवस्था सिर्जना भइसक्यो । कोही पपगीतको भिडियोका स्टार, कोही आधुनिकका स्टार त कोही लोकदोहोरी भिडियोका । म्युजिक भिडियोका हिट जोडीमध्ये पर्छन्, शंकर बिसी र सम्झना बुढाथोकी, उनीहरू बढीजसो लोकदोहोरी भिडियोमा छाउँछन् । शंकर म्युजिक भिडियो निर्देशक पनि हुन् ।
सम्झना त्यसै सबैको रोजाइमा परेकी होइनन्, उनले मोडलिङ गरेका कैयौँ गीत सफल भएका छन् । सुपारी चाम्रो, लालुपाते नुघ्यो भुइँतिरलगायत कैयौँ गीतका अडियो तथा भिसिडी चल्नुमा उनको पनि हात छ ।
त्यसो त यसबापत उनको कमाइ पनि गतिलै छ । दैनिक गुजारा त चलाएकै छिन्, घरखर्चका अलवा एउटा स्कुटी र केही बैंक ब्यालेन्स पनि म्युजिक भिडियोकै कारण जोड्न सकेकी छन् ।
०६२ देखि यतातिर पाइला चालेकी उनले हालसम्म तीन सय बढी म्युजिक भिडियोमा अभिनय गरिसकिन् ।
किन चलिन् त सम्झना भिडियोमा यसरी ? ‘फास्ट बिटको लोकगीतमा सम्झनासँग कम्पिटिसन गर्ने कोही छैन,’ म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट भन्छन् । निर्देशकले मात्र होइन, अडियो कम्पनीले पनि म्युजिक भिडियोका लागि सम्झनाकै डिमान्ड गर्ने गरेको निर्देशक बिसी बताउँछन् । ‘त्यसैले मैले पनि धेरैमा उनलाई लिएको छु,’ उनले भने ।
म्युजिक भिडियोमा चर्चा कमाएपछि चलचित्रतिर जम्प गर्ने सोच्छन् धेरै जना । कतिले त्यसै गरेका पनि छन् । सम्झनालाई चाहिँ त्यतातिर वास्तै छैन, किन त ? ‘म्युजिक भिडियोबाटै फुर्सद छैन । कमाइको हिसाबले पनि यतै माथि छ,’ सम्झनाले कारण खोलिन्, ‘यता थोरै समय दिए पुग्छ, केही दिनमै प्रसारण भइहाल्ने भएकाले चर्चा पनि छिट्टै हुन्छ । तर, सिनेमामा समय धेरै दिनुपर्छ,  चर्चा हुने/नहुने टुंगै हुँदैन ।’
त्यसो त सम्झनाकै हाराहारीमा म्युजिक भिडियो गरिसकिन् अञ्जु निरौलाले पनि । सम्झनालाई फास्ट बिटमा उछिन्ने अरू नभएजस्तै यिनलाई पनि सेन्टिमेन्टल गीतमा उछिन्ने कोही छैनन् । रंगमञ्चबाट म्युजिक भिडियोमा प्रवेश गरेकाले होला, उनको बराबरी अभिनय गर्ने मोडलै म्युजिक भिडियो क्षेत्रमा छैनन् पनि भन्छन् निर्देशक शिव विक त । लोकदोहोरीको सेन्टिमेन्टल प्याटर्नमा शंकर बिसी र प्रकाश भट्ट पनि उनैलाई लिने गरेको सुनाउँछन् । यही कारण सुरुसुरुमा तीन–चारवटा म्युजिक भिडियोमा चित्त बुझाएकी उनका हातमा अहिले महिनामा २० वटासम्म पर्दा रहेछन् । केही समयपहिले नारी चलचित्रमा अभिनय गरेकी उनी म्युजिक भिडियोमा आएपछि चलचित्रतिर फर्किएकै छैनन् ।
‘म्युजिक भिडियोभन्दा धेरै समय खर्चेर पनि चलचित्रमा चर्चा कम पाइँदो रहेछ, त्यसैले यतै रमाइलो छ,’ अन्जुले भनिन् । रुन्छु रातिमा, माया लाउनेहरूमा जस्ता गीतबाट चर्चा कमाएकी उनी चलचित्रबाट आफ्नो कलासंस्कृति हराउँदै गएकाले पनि त्यसतर्फको रुचि मर्दै गएको सुनाउँछिन् । म्युजिक भिडियोमा चलेकी अर्की मोडल पार्वती राई पनि यतै रमाइरहेकी छन् ।  हेर्छा ओठ टोकी गीतको म्युजिक भिडियोबाट काँचको पर्दामा देखापरेकी पार्वतीले सोही भिडियोबाट यस्तो जादू चलाइन् कि उनी थुप्रै निर्देशकको पर्दामा पर्न थालिन् । ‘डान्स तथा सेन्टिमेन्टल दुवै बिटमा पार्वतीलाई लिएर काम गर्न सजिलो छ,’ निर्देशक विकले भने । पार्वतीको विषयमा शिवकै जस्तो धारणा प्रकाशको पनि  छ, ‘पार्वतीलाई लिँदा गीतको बिटमा ध्यान दिनु पर्दैन ।’ केही समय भयो पार्वती म्युजिक भिडियोमा देखिएकी छैनन् । के उनी चलचित्रमा छिरेकी हुन् त ?
‘होइन,’ उनले भनिन्, ‘घरायसी कामका कारण अलि समय दिन पाइनँ ।’ धेरैअगाडि चलचित्रबाट अफर आए पनि आफ्नो रोजाइ म्युजिक भिडियो नै भएकाले त्यतातिर चासै नदिएको उनले सुनाइन् ।
एक–दुई चलचित्रमा अभिनय देखाए पनि मोडल शशी खड्का म्युजिक भिडियोमै जमिरहेकी छन्, यतै रमाउँछिन् । ‘म्युजिक भिडियोले नै मेरो परिचय बनाएको छ, यसैलाई निरन्तरता दिन चाहन्छु,’ उनले भनिन्, ‘यसो हेरुँ न त भनेर चलचित्रमा छिरेको, म्युजिक भिडियोमै ठीक लाग्यो ।’
रञ्जिता गुरुङ, गीता राई, अनु गिरीलगायत  मोडल पनि म्युजिक भिडियोमै  रमाएका छन् । यिनीहरूको धारणा पनि अरूकै जस्तो छ, ‘म्युजिक भिडियो आजको भोलि आउँछ, चलचित्रमा न पैसा हुन्छ, न त तुरुन्तै हेर्न पाइन्छ ।’

प्रतिक्रिया